भारतद्वारा प्रकाशित नक्सामा नेविसंघको आपत्ति : विरोध र्याली निकाल्दै भने, घुँडा नटेक सरकार

काठमाडौं – भारत सरकारले प्रकाशित गरेको भारतको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई समेत समेटेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। कालापानी र लिपुलेक नेपालका अभिन्न अंग भएको उल्लेख गर्दै नेविसंघले नेपाल सरकारको ध्यानाकर्षण गराउन विरोध र्‍याली निकालेको विद्यार्थी नेता पवन थापाले बताउनुभयो ।

काठमाडौं पुतलीसडकको प्रदर्शनी मार्ग हुँदै शंकरदेव क्याम्पसमा गएर टुगिंएको विरोध प्रदर्शनीमा नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले, निर्वतमान उपाध्यक्ष रामप्रसाद अधिकारी, निर्वतमान केन्द्रिय सदस्य शुसिल भट्ट  लगायतका नेताहरु तथा विद्यार्थीहरुको सहभागिता थियो।

र्‍यालीमा सहभागीहरुले ‘आफ्नो माटो अर्काको दाबी किन मौन सरकार ? , ‘हाम्रो माटो हाम्रो जीवन, कागजी अतिक्रमण मुर्दावाद’, ‘भारतीय हस्तक्षेपविरुद्ध जवाफ दिन घुडा नटेक सरकार’, ‘नेविसंघ युद्ध लड्न तयार छ’ लगायतका नारा लगाएका थिए।

यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बुधवार एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार मौन रहेको प्रति असन्तुष्टि जनाउँदै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ । नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतले सार्वजनिक गरेको यो नक्सामा नेपाली भूभाग समेटेको भन्दै राप्रपा र कांग्रेसले पनि बिरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?