नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै नेपाली भूभाग नयाँ राजनीतिक नक्सामा समावेश गरेको छ। दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ।

जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।

यसको विरोधमा शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले जनाएको छ । ग्रेटर नेपालका मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारको लाचारीपन भएको बताए । मोर्चाले शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउन गर्ने बताएको छ ।

नेपालको भूमि मिचेर सार्वजनिक गरेकोमा भारतीय नक्सामा अरु देशहरु पनि समावेश गरिएको छ । जसलाई पाकिस्तानले भारतको यो हर्कतको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ ।

नेपालका राप्रपासहित विभिन्न दलले विरोध जनाउँदै आएको छ । प्रतिपक्षदल नेपाली काँग्रेसको भात्रृसंगठन नेबिसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको छ ।नेविसंघले भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र राष्ट्रवादी सरकारको धारणा माग गरेर प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?