पशुपतिको जग्गा भाडा : प्रतिआना मासिक साढे ९ रुपैयाँ

काठमाडौं : पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ । कोषले व्यापारिक निकाय हायात होटललाई एक आना जग्गा लिजमा दिएबापत मासिक नौ रुपैयाँ ५० पैसा भाडा लिइरहेको छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । कोषले उक्त होटललाई १८ रोपनी जग्गा भाडामा दिएको छ । तर, यसबापत कोषले प्रतिरोपनी मासिक १ सय ५२ रुपैयाँ मात्र पाउँदै आएको छ ।निजी स्वामित्वको विलासी पाँचतारे (डिलक्स फाइभ स्टार) होटल हायात रिजेन्सीले कोषअन्तर्गत अमालकोट कचहरीको स्वामित्वमा रहेको उक्त जग्गा कौडीको मूल्यमा भोगचलन गरिरहेको तथ्य फेला परेको खबर अन्नपूर्णले छापेको छ । आराध्यदेव पशुपतिनाथको नाममा राखिएको उक्त जग्गा चलनचल्तीको मूल्यमा खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा लगाउँदा पशुपति क्षेत्रको विकासनिम्ति उल्लेख्य स्रोत जुट्नसक्नेप्रति अहिलेसम्म कसैले ध्यान दिएको पाइँदैन।प्रतिमहिना प्रतिआना कम्तीमा १० हजार रुपैयाँ प्राप्त हुनेमा कोषले हायातसँग नौ रुपैयाँ ५२ पैसा मात्रै लिँदै आएको छ । होटलले नौ कित्ताको करिब १८ रोपनी गुठी जग्गा प्रयोग गरेबापत वार्षिक ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्दै आएको छ । मुलुककै सबैभन्दा महँगो होटलमा गनिने हायातले प्रतिरात प्रतिकोठा झन्डै सोही रकम असुल्ने गर्छ ।होटलले कोषलाई दिने तिरो ०६८ सालमा ५० गुणा वृद्धि गरी यति पुर्‍याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?