‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

काठमाडौं । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ ।

विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ । उहाँ यो चलचित्रको सह निर्माता समेत हुनुहुन्छ । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन ।

साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ । बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रमा घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताउनुभयो ।

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका छ । घिमिरेका पिताका भूमिकामा किशन सुनार, मातामा उमा गिरीले अभिनय गर्नुभएको छ । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढीको अभिनय छ । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतिक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गर्नुभएको छ ।

शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरुलाई समाजले अपहेलित गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ । शारीरिकरूपमा असामान्य भएका यस्ता मानिसलाई दैवी श्राप÷पूर्वजन्मको पापका रूपमा लिने प्रचलन पनि छ । उनीहरुको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दा गर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञानलाई व्यवहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब रु ८० लाख रहेको छ ।

विसं २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका छोरीका रूपमा जन्मिनुभएकी घिमिरेले रचना गर्नुभएका कृतिमा सङ्कल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू र क्वाँटी सङ्ग्रह कविता छन् भने उहाँले प्राप्त गरेका पुरस्कार राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ हो ।

मस्तिष्क पक्षघातले गर्दा उहाँका लुला हातगोडा भएकाले उहाँको जीवन अत्यन्तै कष्टकर तथा दुःखदायी छ । उहाँले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिन पाउनुभएको थिएन । गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्ररणादायी बनेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?