पटाका पड्काए सार्वजनिक मुद्दा, १० बजेपछि देउसीभैलो खेल्न प्रतिवन्ध
काठमाडौं । नेपालीजनलाइ यतिबेला तिहारको माहोलले छपक्कै छोपेको छ ।काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवद्र्धन पूजा र भाइटिका गरी तिहार पाँच दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।
लक्ष्मीपूजाको दिनदेखि भाइटिकासम्म मनोरञ्जनका साथै आर्थिक संकलन गर्न देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।
देउसी–भैलो कार्यक्रमहरु रमाइलोका लागि भन्दा आर्थिक संकलनप्रति बढी लक्षित हुने र कतिपय अवस्थामा धेरै रातिसम्म देउसीभैलो खेल अप्रिय घटना समेत हुने भएकाले यस पालि १० बजेपछि देउसीभैलो खेल्न प्रतिवन्ध गरिएको छ ।
तिहारको समयमा प्रत्येक वर्षजस्तै यस वर्षपनि काठमाडौं उपत्यकामा प्रहरीले शान्ती व्यवस्थालार्इ चुस्त दुरुस्त बनाएको छ । उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपर र काठमाडौंमा राति १० बजेपछि देउसी–भैलो खेल्न र खेलाउन नपाउने प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
राति–राति देउसी भैलो खेल्नेहरुमाथि नै खतरा हुन नदिन राति १० वजेसम्मलाई कायम गरिएको समेत उहाँले प्रष्ट पार्नुभयो ।
तिहारमा हुन सक्ने सम्भावित अपराध तथा दुर्घटना नियन्त्रण गर्न वडादशै अघि नै विशेष सुरक्षा योजना लागू भइसकेकाले सोही अनुरुप सुरक्षाव्यवस्था मिलाइएको छ ।
जुवातास विरुद्ध गोप्य अप्रेसन
मदिरा सेवन गरी हो–हल्ला तथा झैझगडा गर्ने, जुवातास, कौडा खेल्ने, लङ्गुर गुर्जा खेलाउने र चिठ्ठा काट्ने विरुद्ध साताब्यापी रुपमा कडा कारवाही शुरु गरिएको बोगटीले बताउनुभयो ।
तिहारमा घर फर्किनेहरु भन्दा उपत्यकामा नै बसेर मनाउने धेरै हुने भएकाले मदिरा सेवन गरी सवारी चलाउने, रमाइलोका नाममा अवैध जुवा अखडा सञ्चालन गर्ने, ग्याङफाइट गर्ने, देउसी भैलोका नाममा रातभर हो–हल्ला गर्नेहरुलाई सिधै प्रहरी खोरमा थुन्ने निर्णय प्रहरीले लिएको छ ।
त्यस्तै, तिहारमा घरआगन तथा कार्यालयमा झिलीमिली बत्ती जडान गर्ने क्रममा आगलागीका घटना बढ्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं , भक्तपुर र ललितपुरमा प्रयाप्त मात्रामा खटाइएको समेत महानगरीय प्रहरी वृत्त काठमाडौंले जनाएको छ ।
पटाका पड्काए सार्वजनिक मुद्दा
विष्फोटक पदार्थ आतसवाजी, पटाका, भुइचम्पा, झिरझिरे लगायतका वस्तुको ओसारपसार, खरिद विक्री तथा प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ । यस्ता प्रतिवन्धित बस्तुको प्रयोग गरेमा सार्वजनिक मुद्दाअन्तरगत कानुनी कारवाही गरिने नायव उपरिक्षक बोगटीले लोकपथलाई जानकारी दिनुभयो ।
प्रहरीले तिहारको समयमा पटाका लगायत विस्फोटक वस्तुहरुको बेचबिखनमा समेत रोक लगाएको छ । साथै बेचेको पाइएमा प्रहरीले कारबाहीको दायरामा ल्याउने जानकारी बोगटीले दिनुभयो ।
यसैक्रममा अहिलेसम्म प्रहरीले पटाका बिक्री गरेको आरोपमा ४ जनालाइ पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ भने दुइ जनालाइ विस्फोटक पर्दाथ पड्काइ जनजीवनमा नराम्रो असर पारेको अभियोगमा मुद्धा चलाउने लागेको समेत प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।
विष्फोटक पदार्थको प्रयोग रोक्न, झैझगडा नियन्त्रण गर्न र सामाजिक विकृतिमाथि निगरानी राख्न सादा पोशाकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तिहार आफैँमा आर्थिक पक्षसँग जोडिएको चाडपर्व भएकाले सम्भावित चोरी डकैति र लुटपाट नियन्त्रण गर्न टोल–टोलमा प्रहरी अभियान शुरु गरिएको जनाइएको छ । र त्यसको लागी ठुलो मात्रामा प्रहरी एवं सवारी साधन समेत परिचालन गरिएको लोकपथसँग बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया