११ लाख नेरु र ६ लाख भारुसहित दुई युवक पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करिब ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा मटिहानीबाट जनकपुर जाँदै गरेको अवस्थामा स्रोत नखुलेको रु ११ लाखसहित मटिहानी नपा ६ बस्ने भोगेन्द्र पूर्वेका छोरा २४ वर्षीय जीवन पूर्वे पक्राउ परेका छन् ।

त्यस्तै जिल्लाको जलेश्वर–भिट्ठामोड सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनी नजिकबाट नेपालबाट भारत जाँदै गरेको अवस्थामा स्रोत नखुलेको पाँच लाख ७५ हजार भारुसहित जनकपुर उपमहानगरपालिका–८ बस्ने रामविलास महासेठका छोरा ३२ वर्षीय विजय महासेठ पक्राउ परेका छन् ।

दुवै युवकले नेपाली र भारुको अवैध सटही तथा सुन चाँदीको चोरी तस्करीजस्ता कारोवार गर्ने गरेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले दुवै युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?