१२ कार्तिक २०७६, मंगलवार ०९:००

‘दिदीबहिनी नभएका २ सय भन्दा बढी दाजुभाइकी प्यारी चेली अञ्जली’


प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलवार ०९:००

हरेक वर्ष भाइटिकाको दिन काष्ठमण्डप ढकमक्क फूल्छ । टिका थाप्ने निधार मुस्कुराउँदै लस्कर लाग्छन् अनि मुस्कुराइरहेका निधारमा टिका थपिदिएर झन् पुलकित बनाइदिन्छिन् अञ्जली मास्के ।

भाइटिकाको दिन काष्ठमण्डपमा हुने सामूहिक भाइटिकाकी आयोजक हुन् अञ्जली मास्के । विगत २१ वर्षदेखि ७४ वर्षीया अञ्जली दिदीबहिनी नभएका माइतीकी ‘चेली’ बनेकी छिन् ।

काठमाडौंमै जन्मिएकी अञ्जली सानैदेखि धर्मकर्ममा अत्यन्तै रुचि राख्थिन् । सकेसम्म सबैलाई माया बाँडौं, जीवनमा आफ्नो कारणले कसैलाई दुःख वा चोट नपुगोस् भन्ने उनको सिद्धान्त थियो । यही सिद्धान्तले उनलाई सामूहिक भाइटिका लगाइदिने उर्जा दिएको उनको विश्वास छ । उनका आफ्नै माइती नभएका पनि होइनन् । तर, उनले चेली नभएका माइतीका बारेमा सोचिन् । भाइटिकाको दिन उनीहरुको निधार खाली हुँदा अनुभव गर्ने अनुभूतिका बारेमा मनन गरिन् । ‘आफ्नै दाजुसँग गहिरो सम्बन्ध भएकाले पनि होला अन्य दाजुभाइका बारेमा सोच्न मन लागेको,’ यसो भन्दै उनले आफ्ना स्वर्गीय दाइलाई याद गरिन् ।

त्यसो त उनले धेरै वर्षअघिदेखि नै चेलीबेटी नभएका दाजुभाइलाई आफ्नै घरमा भाइटिका लगाइदिँदै आएकी थिइन् । तर, हरेक वर्ष दाजुभाइको सङख््या बढ्दै जाँदा आफ्नो घर साँघुरो परेको अनुभव उनले गरिन् । फेरि आफ्नो हातबाट टिका थाप्न आउने कोही पनि दाजुभाइ खाली निधार नफर्किउन् भन्ने उनको इच्छा थियो । त्यसैले भाइटिका लगाइदिन उनले ‘काष्ठमण्डप’ को आँगन रोजिन् ।
सानैदेखि काष्ठमण्डपमा नियमित पूजाआराधना गर्ने भएकाले पनि उनलाई त्यही ठाउँ उपयुक्त लाग्यो । अरु ठाउँभन्दा आत्मीय लाग्यो । ‘घरमा लगाइदिँदा सीमित दाजुभाइ मात्र आउन पाउनुभयो त्यसैले काष्ठमण्डप रोजेँ । सकेसम्म कसैको निधार खाली नहोस् भन्ने मेरो चाहना हो,’ उनले लोकपथसँग भनिन् ।

‘कतिजना आउनुहुन्छ टिका लाउन ?’ हामीले प्रश्न ग-यौं ।

‘पहिला १०८ ठाउँ शगुन तयार गर्थें तर, टिका लाउनेको सङ्ख्या बढ्दै गएपछि आजकल २०८ ठाउँ तयार गर्छु,’ उनले भनिन् ।
प्रत्येक वर्ष २०८ ठाउँ नेवारी परम्परा अनुसारको शगुन, भाइमसला, फूलका माला लगायत सामाग्री तयार गर्नुपर्ने भएकाले पनि दशैँ लगत्तै उनको व्यस्तता बढ्छ । अहिले पनि उनी यही तयारीमा जुटेकी छिन् ।

‘तयार गरे जति सामाग्री पर्याप्त हुन्छ त ?’
‘कहिलेकाहीँ उभिन्छ, प्राय पुग्दैन । नपुगेको बेला कसैलाई थप शगुन लिन पठाउँछु ।’
यसो भन्दै गर्दा उनले २०७२ सालको भाइटिकाको स्मरण गरिन् । महाभूकम्प गएको साल भएपनि उल्लेखीय दाजुभाइहरुको उपस्थिति भएकाले अञ्जली दङ्ग परेकी थिइन् त्यो साल । ‘त्यस वर्ष थोरै जना आउनुहुन्छ भनेर १०–१५ वटा शगुन कम गरेको थिएँ तर, अन्तिममा पुगेन त्यसैले थप शगुन लिन पठाएँ,’ मुस्कुराउँदै उनले भनिन् ।

‘काष्ठमण्डप मेरो मुटु हो’

२०७२ सालको महाभूकम्पले विभिन्न ऐतिहासिक धरोहर ध्वस्त बनाइदियो । काष्ठमण्डप पनि तिनै धरोहर मध्य एक हो । तर, अञ्जलीले सो भूकम्प महसुस गर्न पाइनन् ।

त्यसताका उनी आफ्ना छोरासँग बेलायत गएकी थिइन् । करिब एक वर्षका लागि आफ्नै छोराबुहारीसँग बस्न गएकी उनी भूकम्पले काष्ठमण्डप ध्वस्त बनायो भन्ने खबर सुन्नासाथ नेपाल फर्किन् ।

‘यता भूकम्प जानु रैछ उता मलाई रातभरि निद्रा लागेको थिएन । के गरौं, कसो गरौं भइरहेको थियो । भूकम्प गएको खबर छोरा बुहारीलाई त थाहा भइहालेछ तर, उनीहरुले मलाई बताएनन् । जाने जिद्दी गर्छु भनेर । पछि मैले पनि थाहा पाएँ । सुन्नासाथ आइहालेँ,’ अञ्जलीले एक श्वासमा भूकम्पसँग जोडिएको नमीठो अनुभव सुनाइन् ।

अञ्जली आफू र काष्ठमण्डपबीच छुट्टै सम्बन्ध भएको बताउँछिन्,’ भन्छिन्, ‘काष्ठमण्डप त मेरो मुटु हो ।’

तर, अहिले उनको मुटु (काष्ठमण्डप) भत्किएको छ । भूकम्प गएको ३ वर्ष पूरा भइसक्दा पनि त्यसको मर्मतसम्भार र पुननिर्माणका विषयमा सम्बन्धित निकाय मौन छ । यद्यपी यसले अञ्जलीलाई भाइटिका लगाइदिनबाट रोक्न सकेको छैन । काष्ठमण्डपकै प्राङ्गणमा विगत ३ वर्षदेखि उनले भाइटिका लगाइदिँदै आएकी छिन् ।

‘काष्ठमण्डप भत्किए पनि भगवानको उपस्थिति त महसुस गर्ने कुरा हो । उहाँकै सेरोफेरोमा रहेर टिका लगाइदिइरहेकी छु ।’
दाजुभाइको उपस्थिति पनि पातलिएको छैन । बरु हरेक वर्ष झन्झन् बढ्दै गएको छ ।‘सुविधाको लागि होइन आशिर्वादका लागि आउनुहुन्छ । बस्ने ठाउँ नहुँदा उभिएरै पनि टिका थाप्नुहुन्छ ।’ उनले खुसी हुँदै बताइन् ।

उनले पहिलोपटक वि सं २०५५ सालमा काष्ठमण्डपमा सामूहिक भाइटिका आयोजना गरेदेखि नै टिका थाप्न आउनेको सङ्ख्या उल्लेख्य छ । त्यसबेला नेपालमा सामाजिक सञ्जालको यति व्यापक प्रभाव परिसकेको थिएन त्यसैले प्रचार गर्ने माध्यम पनि सीमित मात्र थिए । यद्यपी सामूहिक भाइटिका आयोजना हुने खबर सुनेकै भरमा पनि करिब सय जना उपस्थिति भए । यसले अञ्जलीलाई झन् प्रोत्साहन ग-यो ।

विभिन्न जात, स्थान, संस्कारबाट आएका अपरिचितहरुसँग सप्तरङ्गी टिकाले सम्बन्ध गाँसिदियो । फलस्वरुप अञ्जलीले आफूलाई साख्य दिदी मानेर हरेक वर्ष विदेशबाट भाइटिका थाप्न आउने माइती देखि दशैँमा समेत टिका, आशिर्वाद थाप्न आउने माइती कमाएकी छिन् ।

इन्द्रकुमार श्रेष्ठ पनि तिनै नियमित टिका थाप्न आउने माइती मध्ये एक हुन् । चेलीबेटी नभएका इन्द्रकुमारले अञ्जलीको हातबाट भाइटिका थापेको २ दशक बढी भइसक्यो । अञ्जलीलाई साख्य दिदी भन्दा बढी आदर गर्ने उनी बेला मौका पारेर उनलाई भेट्न गइरहन्छन् । अञ्जली भन्छिन्, ‘सप्तरङ्गी टिकाले गाँसेको सम्बन्ध पो हो त । रगतको नाता भन्दा बलियो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
ओभरसियरको जागिर छोडेर भाषा संस्कृतिका ज्ञाता बनेका काशीनाथको जीवनकथा

काठमाडौं । भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै

बलात्कार प्रकरणमा किन विवादमा तानिन्छ युवतीले लगाएकोे कपडा ?

घटना २७ वर्ष पुरानो हो । इटालीका ४५ वर्षे ‘ड्राइभिङ इन्स्ट्रक्टर’ माथि बलात्कारको

अकुपाइ टुँडिखेलमा जे देखियो हेर्नुहोस् (फोटोफिचर)

काठमाडौं । टुँडिखेल क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै त्यसको संरक्षण गर्न सरकारलाई दबाब

अमेरिकाको ललीपप देखाएर ३ बिहे, दर्जनौं ठगी : नयाँ बिहेको कुरो छिन्न जाँदा युवती यसरी परिन् प्रहरी फन्दामा

काठमाडौं । हरेक दिन देशका होनहार युवाहरु सुन्दर भविष्यको आशमा विदेश पलायन भइरहेका