दिनदहाडै २ लाख चोरी, सिसीटिभी फुटेजमा देखिएका अधबैंसे को हुन् ?

काठमाडौं । मादी पावर प्रालिमा दिनदहाडै २ लाख रुपैयाँ चोरी भएको छ । यही असोज २४ गते पानीपोखरीस्थित कार्यालयबाट करिब २ लाख रुपैयाँ चोरी भएको हो ।

कम्पनीका बिज्नेस म्यानेजर दिपेश शर्माले बताएअनुसार कार्यालयका सबै कर्मचारी दिउँसो खाना खान गएको मौका छोपी कार्यालयमा भुक्तानी लिन आएको बताउने एक व्यक्तिले उक्त चोरी गरेका हुन् । ‘त्यो मान्छे अघिल्लो दिन पनि त्यही समयमा अफिस आएको थियो,’ दिपेश भन्नुहुन्छ, ‘उसलाई त्यो समय लन्च टाइम हो र सबैजना खाना खान जान्छन् भन्ने थाहा थियो ।’

चोरी भएको अघिल्लो दिन पनि सो व्यक्ति कार्यालयमा भुक्तानी लिनु छ भन्दै आएका थिए र सबै कर्मचारी खाना खान गएकाले अकाउन्टेन्टले उनलाई केही समय पर्खन आग्रह गरेका थिए । भोलिपल्ट आउँछु भन्दै गएका ती व्यक्ति अर्को दिन पनि ठीक खाना खाने समयमै आइपुगेको शर्माले बताउनुभयो ।

‘अर्को दिन पनि सबैजना खाना खान निस्किएको बताएर अकाउन्टेन्ट आफू पनि बाहिर निस्किए त्यसपछि त्यो व्यक्ति सरासर माथि गएर दुईवटा कोठाबाट करिब २ लाख बराबरको रकम लिएर निस्किएको सिसिटिभी फुटेजले देखाएको छ,’ शर्माले लोकपथसँग भने ।
सिसिटिभी फुटेजले देखाएअनुसार ती व्यक्ति १२ बजेर ११ मिनेटमा कार्यालयमा प्रवेश गरेका छन् र १२ बजेर १५ मिनेट भित्रमा उनले पैसा निकालेर कार्यालयबाट बाहिरिएका छन् ।

चोरी भएको घटनाको निवेदन आएको र घटनासम्बन्धि अनुसन्धान भइरहेको जानकारी महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख डिएसपी उमेश लम्सालले दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?