नेवारी संस्कृतिको फूलबारीका रुपमा चिनिने भक्तपुरमा यतिवेला प्रजापति समुदायलाई भ्याइनभ्याइ छ । दशैँ सकिएलगत्तै उनीहरु माटोको दियो बनाउने काममा जुटेका छन् । माटोको भाँडा बनाउनु प्रजापति समुदायको पुर्खौली पेशा हो । दयाराम प्रजापति ३०, पनि आफ्नो परम्परालाई निरन्तरता दिइरहेका छन् ।
माटोको भाँडा बनाउन दयाले खास तालिम लिनुपरेन न त कडा अभ्यास नै गरिरहनुप-यो । हाँस्दै, खेल्दै उनले आफ्ना पिता गणेशमान प्रजापतिबाट यो सीप सिके । अहिले दिनमा कम्तीमा पनि १५ सय दियो त उनी यसै बनाउँछन् ।

दया मात्र होइन भक्तपुरको प्रजापति समुदायका अधिकांश ‘दया’हरुले आफ्ना बाबुको पाइला पछ्याउने गरेका छन् ।
हामी पुग्दा दया आफ्ना हातले दियोलाई आकार दिइरहेका थिए । उनका हातले एक थुप्रो काँचो माटोलाई मात्र नभएर प्रजापति परिवारको सिंगो संस्कृतिलाई नै आकार दिइरहे जस्तो लाग्यो ।
दयाले चक्रमा माटाको भाँडा बनाइरहँदा उनका पिता गणेशमान भने छेउमै बसेर मुसुमुसु मुस्कुराउँदै माटो मुछ्दै थिए । बाबुछोरा पालैपालो चक्रमा बस्छन् । एउटा बस्दा अर्कोले माटो मुछ्ने, तयार भइसकेका भाँडा घाममा सुकाउने आदिजस्ता काममा सघाउँछन् । तर, आफू आफ्नो बुबाको उमेरको हुँदा यस्तै दृश्य दोहोरिने कुरामा भने दयालाई खासै विश्वास छैन । ‘मेरो छोराछोरी त यो पेशामा लाग्दैन होला,’ उनी भन्छन्, ‘अबको पुस्ताको आफ्नै चाहना हुन्छ, हामीजस्तो कहाँ हो र ?’ यद्यपि, पेशाकै रुपमा अवलम्बन नगरेपनि आफ्ना भावी सन्ततिले कम्तीमा माटोसँग खेल्न जानुन्, चक्र घुमाउन जानुन्, भाँडा बनाउन जानुन् भन्ने दयाको इच्छा छ ।

‘माटोको भाँडो बनाउने काममा मात्रै निर्भर भएर अबको पिढीको गुजारा पनि त चल्दैन,’ आफ्नो पेशा सँगसँगै माटोको भाँडाको माग पनि घट्दै गएको बताउँदै दया अगाडि थप्छन्, ‘अघिल्ला वर्षभन्दा निकै कम व्यापार भइरहेको छ आजभोलि ।’
माटाको भाँडालाई शिशा र प्लास्टिकले प्रतिस्थापन गर्न थालेपछि माटाको भाँडो नै लोप हुने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् उनी । ‘माटो पनि आजभोलि निकै महंगो छ,’ दया भन्छन्, ‘निसान गाडीको एक टिप माटोको ७ हजार रुपैयाँ पर्छ ।’ तर, माटोको महंगी बढ्दै जाँदा दियोको दाम भने खासै उकालो लागेको छैन । एउटा दियोलाई डेढ रुपैयाँमा बेच्छन् उनीहरु । जुन बजारसम्म पुग्दा १० देखि १५ रुपैयाँसम्ममा बिक्री हुन्छ । यसो हुँदा उत्पादनकर्ताले पनि उचित नाफा कमाउँदैन र उपभोक्ताहरु पनि महंगीमा पर्छन् । सीप, समय र श्रमको उच्च प्रयोग गनुपर्ने भएको हुँदा आफ्नो मिहिनेतअनुसारको प्रतिफल नपाइएको हो कि भन्ने लाग्छ दयाको परिवारलाई ।

यद्यपि, बिजुलीबाट चल्ने आधुनिक चक्रले भने सजिलो बनाइदिएको छ उनीहरुलाई । पारम्पारिक शैलीमा एउटा दियो बनाइसक्दा आधुनिक यन्त्रमा ३ देखि ४ वटा बनाउन भ्याउने भएकाले प्रविधिले निकै सहयोग पु-याएको बताउँछन् दया ।
तिहार नजिकिएकाले पनि उनीहरुलाई यतिवेला माग भएअनुसारको दियो बनाउने चटारो छ । भोकप्यास बिर्सेर दिनभरि उनीहरु माटोमा हात चोपलिरहेका छन् । किनकी उनीहरुलाई थाहा छ आफूले बनाएको दियोले यसपालि कसै न कसैको घर उज्यालो बनाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया