मन्त्रिपरिषद् बैठक जारी, तोकिएला त प्रदेश प्रमुख र प्रदेश राजधानी ?

काठमाडौ, २८ पुस । प्रदेश प्रमुखको नियुक्ति र प्रदेश राजधानी तोक्ने लागायतका विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बिहान नौ बजेपछि बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न गृहकार्य थालेको छ। कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रियाको थालनी गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । प्रमुखको नियुक्ति आजको बैठकको मुख्य एजेन्डा भएको बताइएको छ । दलीय सहमति गरेर प्रदेश प्रमुख तोक्ने तयारी गरेपनि सहमति जुट्न सकेको छैन । संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै, बैठकले प्रदेश सम्पर्क कार्यालय खोल्ने तयारीसमेत गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयबाट पेस भएको कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि स्वेच्छिक अवकाशसम्बन्धी प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ शुक्रबार नै राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयन गर्ने तयारी गरिएको जानकारी दिए । कर्मचारी समायोजन ऐन अनुसार, ऐन जारी भएको तीन महिनाभित्र स्वेच्छिक अवकाशका लागि सूचना जारी गर्नुपर्ने प्रावधान छ । समायोजन ऐन गत २९ असोजमा जारी भएको थियो । सोहीअनुसार सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै राजपत्रमार्फत सूचना जारी गरी स्वेच्छिक अवकाशको प्रक्रिया थाल्ने गृहकार्य अघि बढाउने भएको छ । मन्त्रालयले स्वेच्छिक अवकाशका लागि आवेदन दिने सयम ४५ दिन प्रस्ताव गरेको छ । सामान्यको सो प्रस्तावअनुसार राजपत्रमा सूचना जारी भएको ४५ दिनभित्र स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीले आवेदन दिइसक्नुपर्नेछ । सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐन अनुसार स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीका लागि विभिन्न सर्त तथा सुविधा तयार पारेको छ । त्यस्तै, सामान्य प्रशासन मन्त्रालयका अनुसार ऐनअनुसार ५० वर्ष पुगेका र २० वर्ष सेवा गरिसकेका कर्मचारीहरू स्वेच्छिक अवकाश कार्यक्रममा सहभागी हुन सक्नेछन् । ऐन बमोजिक संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र निवृत्तिभरण पाउने बमोजिम स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये नेपाल स्वास्थ्य र व्यवस्थापिका संसद् सेवाका कर्मचारी र २०४९ साल कात्तिक २१ भन्दाअघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर नलाग्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्नेहरूको हकमा ५८ वर्ष उमेर नलाग्ने गरी सेवा अवधि थप गरी स्वेच्छिक अवकाश दिइने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?