काठमाडौं । ‘२० रुपैयाँ मात्र हो दिदी लग्नुस् न !’ असन चोकमा सप्तरङ्गी टिका बेच्न बसेकी १३ वर्षीया बिनिता मुसुक्क मुस्कुराइन् ।
तिहार नजिकिएसँगै उनी बिहान १० बजेदेखि असन चोकमा सप्तरङ्गी टिका बेच्न बस्छिन् । सानी नानीले बेच्दै गरेको देखेर होला उनलाई ‘नोटिस’ गर्न भ्याउनेले प्राय उनको आग्रह स्वीकार्छन् । कोही रङ्ग किनेर सरासर जान्छन् कोही उनलाई ‘नानी, घर कहाँ हो ? पढ्छौ पनि ? ममीबाबा के गर्नुहुन्छ ?’जस्ता प्रश्न गर्दै केही बेर गफिन्छन् ।
हँसिली र बोलक्कड भएकाले होला सबै प्रश्नको उत्तर झर्को नमानी दिन्छिन् बिनिता, ‘घर यहीँ इन्द्रचोकमा छ, ६ क्लासमा पढ्छु, ममीबाबा इन्द्रचोकमै सारी बेच्नुहुन्छ’ ।
बिनितालाई यस काममा उनका दाजु विवेकले सघाउँछन् । बिनिता एउटै ठाउँमा बसेर बेचिरहँदा विवेक भने नाङ्लोमा रङ्ग लिएर असनको गल्लीगल्ली चहार्छन् । आफूले बेचिरहेको सप्तरङ्गी टिकाले यस वर्ष धेरैजना चेली र माइतीको निधार र सम्बन्धमा रङ्ग भर्ने छ भन्ने कुराबाट अनविज्ञ छन् दुवैजना ।
दुईजनाले गरेर दिनको १५ सय, २ हजार कमाइरहेका छन् । त्यसो त यसरी चोकचोकमा थोक बेच्नु उनीहरुको पेशा होइन । यो उनीहरु रहरले गरिरहेका छन् । फुल टाइम ‘विद्यार्थी’ उनीहरु अस्थायी व्यापारी हुन् ।
छुट्टिको वेला फुर्सदिलो समयलाई सदुपयोग गर्दै रङ्ग बेचिरहेको बताउने यी दाजुबहिनीले जे होस् आफ्नो पाकेट खर्च चाहिँ जुटाइरहेका छन् । ‘कमाएको पैसाले के गर्ने ?’ भन्ने प्रश्नमा भन्छन्, ‘आफूलाई किन्न मन लागेको सामान किन्ने !’
दशैँतिहारको वेला प्राय सबै विद्यालय विदा हुने भएकाले असनका गल्लीमा यसरी थोक सामाग्री बेच्ने केटाकेटीहरु प्रशस्तै भेटिन्छिन् आजभोलि । उमेरले काँचा उनीहरुका रहर र आकांक्षाहरु पनि काँचा नै छन् । त्यसैले त आफूले गरिरहेको काम सानोठूलो भनेर छुट्याउने ‘अहमता’ छिप्पिएको छैन उनीहरुमा । किनमेल गर्न आउने मान्छेको भीडमा आफ्नो छुट्टै सानो बजार थापेका छन् उनीहरुले पनि ।
त्यहाँबाट आएको दुईचार पैसाले आफूजस्तै साना, सरल रहरहरु पूरा गर्ने योजना बुनिरहेका छन् ।
सानै उमरदेखि श्रमको सम्मान गर्ने र आत्मनिर्भर बन्ने पाठ सिकिरहेका बिनिता र विवेकको कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :
https://youtu.be/oh7qbG3Xhsw
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया