दुई भारतीय टेलिकम कम्पनी गाभ्न केन्द्रको स्वीकृति

काठमाडौं । भारतको केन्द्र सरकारले दुई भारतीय टेलिकम कम्पनीलाई एकापसमा गाभ्न (मर्ज) स्वीकृति दिएको छ ।

केन्द्र सरकारको मन्त्रिपरिषदले बुधबार महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) लाई भारत संचार निगम लिमिटेड (बिएसएनएल) मा गाभ्न स्वीकृति दिएको भारतीय सञ्चार तथा प्रशारण मन्त्री रवीशंकर प्रसादले बताउनुभयो ।

उहाँले महानगरीय टेलिफोन सार्वजनिक कम्पनी भएको र यसको शेयर स्टक कम्पनीमा सूचीकृत भएकाले मर्जका लागि केही समय लाग्ने स्पष्ट गर्नुभयो । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा नहुँदासम्म एमटिएनएललाई बिएसएनएलकै सहायक कम्पनीका रुपमा राखिने छ ।

मन्त्री प्रसादले दुबै कम्पनीलाई निजीकरण गर्ने वा बिक्री गर्ने भारत सरकारको योजना नरहेको बताउनुभयो । उहाँले दुई वर्षभित्र बिएसएनएल नाफामूलक कम्पनीमा रुपान्तरण हुने विश्वास केन्द्र सरकारले लिएको पनि जानकारी दिनुभयो ।

सार्वजनिक संस्थाका रुपमा सञ्चालित धेरै भारतीय उद्योग र व्यवसायले आर्थिक संकटको सामना गर्नुका साथै नयाँ योजना, कार्यक्रम र व्यावसायिक योजना नहुँदा निरन्तर संकटग्रस्त रहेको भन्दै आलोचना भएपछि सरकारले पछिल्लो कदम उठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?