गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

काठमाडौं । चितवनको रामपुरमा ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ले बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हाे।

नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको साथै कमलको फूल आकारको हुनेछ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला निर्माण हुन लागेको हो ।

पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार ‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुने पनि उहाँले जानकारी दिनुभयो ।

क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ । साथै निर्माणमा जानुअघिका प्रारम्भिक चरणका कामहरु भैसकेका छन् । डीपीआर तयार भइसकेकाले अब कामले गति लिनेमा ढुक्क भएकाे फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?