भूकम्प पीडितलाई राहत दिन र नुवाकोटलाई प्रदेश राजधानी बनाउन ज्ञापनपत्र

काठमाडौं, २७ पुस । नेपाली काँग्रेस नुवाकोटले भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा ३ नम्बर प्रदेशको राजधानी नुवाकोटलाई बनाउन माग गर्दैै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । यसैगरी निर्वाचनमा पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्न समेत माग गरेको छ । जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले भूकम्पपीडितलाई दिएको कम रकमले तिनको घर निर्माणमा समस्या भएको भन्दै दुई लाख थप गर्न आग्रहसमेत गरेको छ । यसैगरी पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य विजयका क्रममा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त स्थान देखेकाले अहिले पनि प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोट बनाउन पनि नुवाकोट काँग्रेसले माग गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले टोलीले उठाएका मागमा आफू गम्भीर भएको र यस विषयमा छलफल गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?