नेपाल टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महशुल

काठमाडाैं । सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । टेलिकमका अनुसार पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने भएकाे छ ।

साथै यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र पर्ने छ।

त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा पाइने छ।

पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ ।

विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको पनि जानकारी दिएको छ ।

साथै यो सेवा कार्तिक १ गतेबाट लागु भएको पनि टेलिकमले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?