सूर्य नेपाल प्रालिद्वारा शिक्षकको तलबलाई १४ लाख सहयोग

काठमाडौं । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले १४ लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सूर्य नेपालले रत्न माध्यमिक विद्यालयमा शिक्षक राख्न १४ लाख सहयोग गरेको हो ।

सूर्य नेपालले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग गरेको कम्पनीका मानव स्रोत प्रबन्धक अञ्जन दुवाडीले जानकारी दिनुभयो । “सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा विभिन्न क्षेत्रमा सहयोग गर्ने लक्ष्यबमोजिम विद्यालयमा सहयोग गरिएको हो”, दुवाडीले भन्नुभयो, “तीन वर्षका लागि विद्यालयसँग सम्झौता गरेका छौँ ।”

सूर्य नेपालले गरेको सहयोगबाट विद्यालयमा तीन माध्यमिक शिक्षकलाई तलबको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार चालू शैक्षिकसत्रदेखि नै विज्ञान, अङ्ग्रेजी र गणित शिक्षकका लागि तीन वर्षका लागि कम्पनीले सहयोग गरेको छ ।

विद्यालयमा सरकारी दरबन्दीमा १२ शिक्षक कार्यरत छन् । विद्यालयको आफ्नै स्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउन समस्या परेको अवस्थामा कम्पनीले गरेको सहयोगले सहज भएको प्रअ भट्टराईले जानकारी दिनुभयो । दलित र जनजाति अध्ययन गर्ने उक्त विद्यालयमा ९८ दलित र ६४ जनजाति विद्यार्थी छन् ।

नेकपाको सचिवालय कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले कार्य सम्पादनका लागि सचिवालय कमिटी गठन गरेको छ । आइतबार बसेको पार्टीको बैठकले ४९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो ।

बैठकले सात सदस्यीय कार्यालय टिमसमेत गठन गरेको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिनुभयो । कार्यालय टिममा साविक नेकपा एमालेबाट अध्यक्ष सिग्देलसहित श्रीप्रसाद श्रेष्ठ, भगवती न्यौपाने र विष्णुभक्त सिग्देल तथा साविक नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मदन आले र अतिन्द्रकेशरी न्यौपाने रहनुभएको छ ।

कार्यालय सचिवमा यसअघि राजेश्वर ढकाल चयन हुनुभएको थियो भने बैठकले कार्यालय सचिवमा वसन्त दरैलाई जिम्मेवारी प्रदान गरेको छ । सोही बैठकले चाडपर्वको अवसरमा कात्तिक ९ गते आयोजना गर्न लागिएको चियापान कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको पार्टीका सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?