चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँछ : नेता रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका-६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ-तिहार तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्नुहुँदै नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने बताउनुहुँदै थारू, पहाडी, दलित, जनजातिलगायत सबै जातिले हातेमालो गरी देश विकासमा लाग्न आग्रह गर्नुभयो ।

नेता रावलले दशैँ, तिहार तथा छठपर्वको शुभकामना दिनुहुँदै सबै जातजातिमा भाइचाराको सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउने र जातीय सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले विकासका कामसँगै विभिन्न जातजातिले मनाउने चाडपर्वमा एकता हुन जरुरी रहेको औँल्याउनुभयो । प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सबै जाताजातिले एकताबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश दिन प्रदेशका शीर्षनेता बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?