सन्दीपले ‘द हन्ड्रेड’ लिग खेल्ने, कमाई १ करोड ४७ लाख !

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् ।

आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भएका छन् । इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको हो ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्को गरेको थियो ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।

आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?