चङ्गाबारे रोचक तथ्य : थाइल्याण्डमा चङ्गा उडाए स्वर्ग पुगिन्छ ?

काठमाडौं । दशैँतिहारको महत्त्वपूर्ण तत्त्वका रुपमा लिइन्छ चङ्गाालाई । अन्य महिनाभन्दा असोज,कात्तिक अर्थात् दशैँतिहारको समयमा आकाशमा बादलका चोइटासँगै घरी यता घरी उता गरिरहेका चङ्गाहरुको दृश्य निकै मनोरम हुन्छ । भलै यस्ता दृश्य आजकल कमै देखिन्छन् तर, यसको महत्त्व अझै पनि उत्तिकै छ । त्यसैले हाम्रा लागि चङ्गा उडाउनु खेल मात्र नभएर रीति हो, पुर्खौंदेखि चलिआएको संस्कृति । यो रीति कहिले र कहाँ जन्मियो भनेर मिति र स्थान किटान गर्न नसकेपनि कसरी भयो भन्ने बारेमा संस्कृतिविद्हरुको छुट्टाछुट्टै अभिव्यक्ति छ ।

लिखित इतिहास नभएपनि नेपालमा लिच्छवी कालदेखि नै चङ्गा उडाउने चलन चलिआएको संस्कृतिविद् डा.गणेश घिमिरेले बताए । उनका अनुसार चङ्गा उडाउने चलनका पछाडि सांस्कृतिक भन्दा पनि सामाजिक र प्राकृतिक कारणहरु छन् । डा.घिमिरे भन्छन् ‘यो समयमा मौसम सफा र स्वच्छ हुने भएकाले चङ्गा उडाइन्थ्यो । यही क्रियालाई बारम्बार दोहोराएपछि यसले परम्पराको रुप लियो । पछि सबै मिलेर चङ्गा उडाउँदा, प्रतिस्पर्धा गर्दा यही सामाजिक एकता र सद्भावको माध्यम बन्यो र क्रमश संस्कृति पनि ।’ साउन भदौको वर्षापछि असोजमा सफा वातावरण हुने भएकाले दशैंको समय चङ्गा उडाउनलाई सबैभन्दा उपयुक्त मानिन्छ । त्यसैले, यो परम्परा धेरथोर मौसम र प्रकृतिसँग पनि सम्बन्धित छ ।

चङ्गाको उद्गमस्थल भने छिमेकी राष्ट्र चीनलाई मानिन्छ ।

इतिहास

चङ्गाको इतिहासको बारेमा सन् ७१३ मा एउटा पुस्तक प्रकाशन भएको थियो ।
पुस्तकअनुसार गोङ्ग सु–वानको वास्तविक नाम ‘लु वान’ थियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । ‘चु राज्य’ र ‘सोङ राज्य’बीच चलेको युद्ध (सन् ४४४०)मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रममा चीनमा तांग वंश सन् ६१८–९०७ सम्म चलिरह्यो । युरोपमा पहिलो पटक सन् १८०४ मा ‘लर्ड जर्ज क्याली’ले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाएका थिए ।

यी देशमा उडाइन्छ चङ्गा, यस्तो छ धार्मिक विश्वास :

नेपाल : किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्रसम्म ‘वर्षा चाहिँदैन’ भन्ने सन्देशपु¥याउनका लागि चङ्गाको प्रयोग गरिएको हो भन्ने किंवदन्ती छ । वर्षायाममा धेरै पानी परिसकेकाले धान पाक्ने बेला पानी चाहिँदैन भनेर इन्द्रलाई उक्त सन्देश पठाइन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास परपूर्वकालदेखि नै रहिआएको छ ।

चीन : चीनमा रोगव्याधबाट मुक्ति पाउन र दुष्टात्मा धपाउने प्रयासको रूपमा चङ्गा उडाउने गरिन्छ ।

जापान : जापानमा प्रत्येक नयाँ वर्षको शुभदिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका प्रत्येक बाबुहरू छोराको नाममा चङ्गा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्छन् । त्यसैले जापानीहरूका लागि चङ्गा उडाउनु वंशलाई अगाडि बढाउने प्रतीक हो ।

भारत : भारतमा माघेसंक्रान्तिको अवसरमा चङ्गा उडाउने गरिन्छ । त्यस दिनलाई ‘चङ्गा पर्व’को नामले पनि चिनिन्छ । सूर्यको स्वागत गर्न चङ्गा उडाइने भारतमा माघेसंक्रान्तिका दिन विभिन्न ठाउँमा चङ्गा चेट कार्यक्रमको आयोजना हुने गरेको छ ।

कोरिया : कोरियामा चङ्गाको प्रयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरूले नयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउन तथा सौभाग्य भित्र्याउनका लागि एउटा ठूलो चङ्गामा ‘अशुभहरू जाओस्’लेखेर आकाशमा उडाउने गरेका छन् । उडिरहेको चङ्गाको धागोलाई काटेपछि त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि काटिएर जान्छ भन्ने विश्वासका साथ यो परम्परालाई आत्मसाथ गरिन्छ ।

श्रीलंका : श्रीलंकामा चङ्गाले स्वर्ग र पृथ्वीको सम्पर्क कायम गर्छ र चङ्गा उडाएमा मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ ।

थाइल्याण्डमा : स्वर्ग र पृथ्वीको सम्पर्क हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासका साथ थाइल्याण्डमा चङ्गा उडाइन्छ ।

सथै अमेरिका र पोलेन्सियामा पनि विशेष अवसरमा चङ्गा उडाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?