काठमाडौंमा २३ जना निर्माण सामग्री डिपोका संचालक पक्राउ

काठमाडौं । निर्माण सामग्री विक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंमा २३ वटा डिपोका संचालकहरु पक्राउ परेका छन ।

महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वयम्भू, बालाजु र महाराजगंजबाट ईटा, गिटी, बालुवालगायतका निर्माण सामग्री ठगीको आरोपमा २३ वटा डिपोका संचालकहरु पक्राउ गरिएको जानकारी गराएको हो ।

उपभोक्ता हित संरक्षण मंचलगायतले उजुरी जारी गरेपछि छापा मार्दा २३ वटा डिपोका संचालकहरुलाई पक्राउ गरी गठी मुद्दामा अनुसन्धान सुरु गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले ३५ वटा ट्रक पनि नियन्त्रणमा लिएको छ ।

महाशाखाका अनुसार उनीहरुले ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको विक्रीमा ठगी गर्ने गरेको पाइएको छ । वरिष्ठ प्रहरी उपरीक्षक थापाले काठमाडौंमा निर्माण सामग्रीको ठगीमा परेका उपभोक्तालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दै सम्बन्धित डिपोबाट क्षतिपूर्ति दिने व्यवस्था मिलाउने पनि बताउनुभयो । यसरी ठगी गरी पक्राउ पर्नेमा ‘बाघे’ भनिने जेबिएस सप्लायर्सका सुकबहादुर लामा पनि रहेका छन । उनले स्वयम्भूमा संचालन गरिरहेको डिपोबाट बालुवा विक्री गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?