२०७२ सालदेखि लागेन तिहार रानीपोखरीलाई, १८ तस्वीरमा हेर्नुहोस् निर्माणाधीन रानीपोखरी

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिर हरेक वर्ष भाइ टिकाको दिन मात्रै खुल्थ्यो । चेली नभएका दाजुभाइ र दाजुभाइ नभएका चेलीहरु भेला भएर भाइटिका लगाउँथे । चेली नहुने र माइती नहुनेका लागि एक किसिमको साझा चौतारी थियो यो मन्दिर । तर, वि सं २०७२ सालदेखि रानीपोखरीलाई तिहार लागेको छैन । बालगोपालेश्वर मन्दिर ०७२ सालको महाभूकम्पपछि सुनसान छ । पोखरीको पानी सुकाइएको छ, पानीले टमक्क देखिने जमिनमा घाँस उम्रिएका छन् । मानौं यो रानीपोखरी होइन कुनै झारपोखरी हो । मन्दिरको र समग्र रानीपोखरीको भग्नावशेषलाई हेर्दा आफ्नो इतिहास नै गर्लम्म ढलेजस्तो लाग्ने गरेको स्थानीय बताउँछन् । तर, यसपालिको भाइटिकासम्ममा पनि रानीपोखरीको पुनःनिर्माण भइसक्ने छाँटकाट देखिँदैन ।
काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच रानीपोखरीलाई कस्तो ‘मोडालिटी’मा पुनःनिर्माण गर्ने भन्ने कुरामा निकै लामो समयसम्म विवाद चलेपछि निर्माणकार्य लामो समयसम्म ठप्प रह्यो । महानगरले रानीपोखरीलाई पुनःनिर्माण गर्दा आधुनिक शैलीमा बनाउने योजना अघि सारेपछि पुरातत्त्व विभागले यसको विरोध गर्दै आएको थियो ।
अन्ततः विवाद सुल्झेको छ । पुनःनिर्माणको काम फेरि शुरु भएको छ । तर, केही समय यता मात्र पुनःनिर्माण पुनःसञ्चालन भएको रानीपोखरीमा यस वर्ष पनि अघिल्लो वर्षजस्तै मन्दिरको भत्किएको मूलढोकामै बसेर चेली र माइतीले टिका साट्नुपर्ने अवस्था हो कि ?

हेर्नुहोस् रानीपोखरीको वर्तमान अवस्था १८ तस्वीरमा :

तस्वीर : बिप्लव जमकट्टेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?