साउन र भदौमा आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात उल्लेख्य मात्रामा बढेको साथै आयात व्यापार भने घटेको पाईएको छ ।

साउन र भदौ मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक विभागले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

साथै यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको पाइएको छ । तथ्यांक अनुसार चालु आवको दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो । उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको तथ्यांक रहेको छ ।

साथै यो पहिलो दुई महिनाम व्यापार घाटासमेत घटेको पाइएको छ । यस अबधीमा कुल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले कम भएको हो । उक्त आवको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । यस वर्ष क्रमशः निर्यात वृद्धि र आयातमा भएको संकुचनले व्यापार घाटा न्यूनिकरणको संकेत देखिएको हो । दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापार भने २ खर्ब ४८ अर्ब ५५ लाख रुपैयाँ बराबरको भएको छ ।

साथै नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत देखिने गरी वृद्धि भएको छ । तथ्यांक अनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७।५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्यातको हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?