जर्मनी र नेदरल्यान्ड युरोकपमा छनोट

एजेन्सी । नेदरल्यान्ड र जर्मनी युरोकप छनोट खेलमा विजयी भएका छन् । आइतबार राति भएको समुह ‘सी’ को छनोट खेलमा नेदरल्यान्डले बेलारुसलाई २-१ गोलले हरायो । जर्मनीले इस्टोनियालाई ३-० गोलले पराजित गर्यो । जितसँगै नेदरल्यान्ड र जर्मनी छनोट नजिक पुगेका छन् । दुवै टोलीले ६ खेलबाट समान १५ अंक बनाएका छन् । गोल अन्तरका आधारमा नेदरल्यान्ड शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो स्थानमा छ ।

बेलारुसमा भएको खेलमा नेदरल्यान्डको जितमा दुवै गोल जर्जिन्हो विजनाल्डमले गरे । जर्जिन्होले ३२औं र ४१औं मिनेटमा गोल गरेका थिए । बेलारुसका लागि स्टानिस्लाभ ड्रागनले ५४औं मिनेटमा एक गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा नेदरल्यान्ड विजयी भयो ।

अर्को खेलमा जर्मनीलाई जिताउन इकेए गुन्डोगानले दुई तथा टिमो वेर्नरले एक गोल गरे । खेलको सुरुवातमै १० खेलाडीमा समेटिए पनि जर्मनीले शानदार प्रदर्शन गरेको थियो । १४औं मिनेटमा इम्री क्यान रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

डिबक्सभित्र इस्टोनियाका फ्रान्क लिभाकलाई लडाएपछि रेफ्रीले इम्रीलाई सिधै रातो कार्ड देखाएका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको जर्मनीले दोस्रो हाफमा तीन गोल गरेको थियो । गुन्डोगानले ५१औं र ५७औं मिनेटमा दुई गोल गरे । टिमोले ७१औं मिनेटमा गोलगर्दै जर्मनीलाई सजिलै जिताए ।

यस समूहमा ६ खेलबाट १२ अंक बनाएको नर्दन आयरल्यान्ड तेस्रो स्थानमा छ । सात खेलबाट चार अंक बनाएको बेलारुस चौथो र एक अंक बनाएको इस्टोनिया अन्तिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?