कारागारबाटै घरमा पैसा पठाउँछन् कैदीबन्दी

काठमाडौं । जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन् ।

कारागारमा रहेका १४४ कैदीबन्दीमध्ये १०० कैदीबन्दीले मूढा बुनेको रकम घरमा पठाएको कारागारले जनाएको छ । चाडपर्वमा मूढाको माग बढी हुने भएकाले दशैँ शुरु भएदेखि नै कैदीबन्दी मूढा बनाउन व्यस्त रहेको कारागारका कैदी नरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले विगत तीन वर्षदेखि कारागारमा मूढा बुन्दै आउनुभएको छ । “कारागारमा यतिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको काम गरौँ भन्ने लागेर मूढा बुन्ने गरेको छु”, उहाँले भन्नुभयो, “समय कटाउने बाटोका अलवा आम्दानीको स्रोत पनि भएको छ ।”

मूढा बनाएर बिक्री भएको आम्दानी घरमा पठाउने गरेको अर्का कैदी पूर्णबहादुर गुरुङले बताउनुभयो । चाडपर्व लागेपछि कैदीबन्दी मूढा बनाउने काममा व्यस्त रहने गरेको कारागारका चौकीदार विष्णुहरि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको चाडपर्वमा एक हजार मूढा उत्पादन गर्ने लक्ष्य छ । गत वर्ष एक हजार ५०० मूढा बिक्री भएको थियो । कारागारका कैदीबन्दीले चाडपर्वमा मूढा बिक्री गरेर रु तीन हजारदेखि छ हजारसम्म घरमा पठाउने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । एउटा मूढा तयार भएपछि ठिक्क खालको मूढा  ४०० रूपैयाँमा बिक्री हुन्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको कैदी महेन्द्र गुरुङको भनाइ छ । “मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको छ”, उहाँले भन्नुभयो ।

मूढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । टायर राखेको  दश रूपैयाँ, मूढा उठाएको  पन्ध्ररूपैयाँ , बिट मारेको र बुट्टा भरेको तीस/तीस रूपैयाँका दरले कैदीबन्दीले पाउने गर्दछन् । कारागारका सहायक जेलर नारायण अधिकारीले पछिल्लो समय कारागारमा उत्पादन भएका मूढा बिक्रीमा भने कमी आएको बताउनुभयो । बजारमा आएका सस्तो मूढाले गर्दा कारागारमा उत्पादन भएको गुणस्तरीय मूढा बिक्रीमा गिरावट आएको उहाँको भनाइ छ । कारागारका कैदीबन्दीले उत्पादन गरेका मूढा दमौली, खैरेनी, आँबुखैरेनीलगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?