फेसबुककै कारण फूलकुमारीले पाईन नयाँ जीवन

सुरेन्द्र भण्डारी / झापा, २८ भदौ ।सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन ।बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन ।आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उनीहरुले रकम जुटाएर सहयोग गरेका हुन । फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छन ।छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहेका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाएका थिए ।अभियानबाट जुटेको रकमबाट उपचार गराइएपछि उनले नयाँ जीवन पाएकी हुन । उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बंैकको २११००१७५०३६४० नम्बरको खाता रकम उपलब्ध गराएका थिए । सहयोग पाएपछि क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन । सबैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।सामाजिक कार्य गर्न रुचाउने टोमले यसअघि पनि आर्थिकरूपले अति विपन्न परिवारका लागि सहयोग गर्दै आएका थिए । राजवंशीले फेसबुकमार्फत चलाएको अभियानका कारण आफ्नो विद्यार्थीले नयाँ जीवन पाएको भन्दै गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले अभियानकर्तालाई धन्यवाद दिएका छन ।शेषलाललाई खुशीसंगै पीडासबैको सहयोगमा छोरी फूलकुमारीले नयाँ जीवन पाएकामा शेषलाल अति खुशी भए पनि उनमा उत्तिकै पीडा पनि थपिएको छ । विसं २०६६ मा विरिङ खोलामा आएको बाढीले उनको परिवारलाई विस्थापित बनाएको थियो ।भएको जग्गा जमिन नदीले कटान गरेर बगरमा परिणत गरिदिएपछि उहाँ अर्कैको जग्गामा आश्रय लिई फुसको छाप्रो हालेर बसेका थिए । आश्रय लिइएको ठाउँमा पनि साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥यायो । त्यसबेला उनी छोरीको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा थिए ।बाढीले क्षति पु¥याएपछि उनी अहिले छिमेकीको शरणमा छन । भएको छाप्रो पनि बस्न नमिल्ने भएको छ । न उनको घरमा ओढ्ने छ, न त ओछ्यान नै ।दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएको राजवंशी परिवारको अहिले न खाने अन्न छ न त बस्ने बास नै । छोरीको सफल उपचारपछि घर फर्किएका उनी छोरीले पाएको नयाँ जीवनप्रति खुशी भए पनि बस्ने घर नै नभएपछि उत्तिकै चिन्तित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?