इजलासमा के भयो ? मिश्रले सोधे, ‘डा. सापलाई ठीक छ ?’

काठमाडौँ, २६ पुस — अदालत अवहेलना मुद्दामा पक्राउ गरी सर्वाेच्च अदालतमा पेस गरिएका डा. गोविन्द केसीलाई मंगलबार दिउँसो चिया ब्रेकपछि न्यायाधीशहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लगियो । भीडभाडयुक्त इजलास छिर्नासाथ कता बस्ने भनेर केसी अल्मलिए । ‘डा. साप यता आउनुस्’, न्यायाधीश मिश्रले कानुन व्यवसायी बस्ने कुर्सीतिर इसारा गर्दै भने, ‘भुइँचालोपछि यस्तै साँघुरो छ । काम चलाइएको छ ।’केसी कुर्सीमा बसिसकेपछि न्यायाधीश मिश्रले सोधे, ‘डा. सापलाई ठीक छ ?’ केसीले टाउको हल्लाए । साथमा रहेकी प्रहरी अस्पतालकी चिकित्सकले अनशनका कारण उनी थाकेको र आरामको जरुरत रहेको बताइन् । इजलासले फेरि केसीको स्वास्थ्यको स्थितिबारे सोधेर बयान गर्न आदेश दियो । फाँटवाला यज्ञराज पाण्डेले छेवैमा बसेर कानेखुसीको शैलीमा करिब दुई घण्टा केसीको बयान लिए । केसीले पनि सोधेको प्रश्नको विस्तारै जवाफ दिएका थिए भने लेखेको कुरामा समेत टिप्पणी गरिरहेका थिए । केसीलाई उनका कानुनी सल्लाहकारहरूले बयानमा सघाइरहे बयान सकिएपछि केसीका कानुन व्यवसायी डा. सुरेन्द्र भण्डारीले इजलासको ध्यानाकर्षण गरे । ‘उहाँलाई दिइएको पक्राउ पुर्जीमा कुन कानुनको उल्लंघन भएको समेत उल्लेख छैन । आफूमाथि के आरोप हो भन्ने थाहा छैन,’ भण्डारीले भने, ‘त्रुटिपूर्ण पुर्जीका आधारमा व्यक्तिलाई पक्राउ गरी बयानसमेत गराउन हुँदैन । प्रस्तुत मुद्दा तत्काल खारेज होस् ।’ इजलासले कानुन व्यवसायीको माग सुनुवाइ गरेपछि डा. केसीलाई आराम गर्न सुझाव दियो । इजलासले केसीलाई असजिलो हुन सक्ने भन्दै लिफ्टबाटै लैजान आदेशसमेत दियो, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?