जमरा, दसैँ र जनजाति

-सुवास जमरकट्टेल

दसैँ नेपालीहरुको प्रमुख चाड हो । आश्विन शुक्ल पक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि सुरु भइ कोजाग्रत पूर्णिमाको दिन समाप्त हुने दसैँ विशेषतः घटस्थापनादेखि दशमीको दिन सम्मलाई महत्वपूर्ण दिनका रुपमा लिइन्छ । यो चाडलाई नेपालको सबै भूभागमा हिन्दू नेपालीले मनाउने भएकै कारण बडा दसैँ वा प्रमुख चाड मानिएको हो ।

प्रमुख चाड भएकै कारण सबै सरकारी कार्यालय तथा निजी उद्योगधन्दा, कलकारखाना तथा प्राइभेट फमहरु विदा हुने तथा कर्मचारीलाई १ महिना बराबरको तलब भत्ता चाडपर्व खर्च भनेर दिने प्रचलन समेत छ ।

दसैँ नेपालीहरुको मौंलिक चाड भएका कारण पनि यसका आफ्नै प्रकारका थुप्रै विशेषता पनि छन् । दसैँमा गाउँ घर बाहिर भएका सम्पूर्ण परिवारहरु भेला हुने, गाउँघर सर सफाई गर्ने, राम्रा राम्रा नयाँ कपडा लगाउने, मिठो मसिनो खाने परम्परा छ ।

यसका साथै यस चाडमा टोल टोलमा लिङ्गे तथा रोटे पिङ्ग लगाउने चलन छ । त्यसैगरी यो चाडको मौसम पनि सुन्दर र मनमोहक हुन्छ । शरद ऋतुमा आकाश पूर्ण रुपमा खुल्ने तथा हावा पनि मन्द गतिमा बहने भएको हुनाले चङ्गा उडाउने सबै भन्दा उत्तम र रमाइलो मौसम पनि यहि भएका कारण चङ्गा उडाउने पर्वको रुपमा पनि लिइन्छ ।

घर परिवारका सबै सदस्य तथा साथिभाइ, इस्टमित्र भेट भएको खुशीमा जुवा तास र लङगुरब्रुजा खेलेर रमाइलो गर्ने पनि चलन थियो । तर जुवा तास खेल्नाले रमाइलो मात्र नभई आर्थिक सत्यानास हुने भएको हुनाले हाल आएर यसलाई विकृतिका रुपमा लिने गरिन्छ । यी विविध मौलिक संस्कृतिसँग सँगैं आधुनिक खेलहरु, चिठ्टा तथा प्रतियोगिताहरु गरेर पनि दसैँलाई थप रौंनक र रोचक बनाउने गरिएको छ ।

दसैँको अर्को महत्व पूर्ण पक्ष भनेको जमरा राख्ने र लगाउने प्रचलन पनि हो । आश्विन शुक्ल पक्षको प्रतिपदा तिथिमा जमरा राखि दशमीको दिन मान्यजनको हातबाट टीका तथा जमरा लगाउने चलन छ । जमरा लगाउनाले विविध रोगहरु नास हुने जनविस्वास रहिआएको छ । जमरा विशेष गरेर सफा ठाउँको माटो ल्याइ घर वा मन्दिरको कुनामा शुद्ध स्थानमा राख्ने गरिन्छ । घटस्थापनाको दिन प्रातकालमा स्नान गरी शुद्ध भई जौं, तिल, प्रियङ्कु ( माल कागुनु ), गहुँ र मकैं गरी एक दलीय पञ्च अन्नलाई मिसाई सूर्यको प्रकाशले नदेख्ने गरी राखिन्छ ।

घटस्थापनाको दिन जमरा राखिसके पश्चात घर घरमा चण्डिकब्ज/दुर्गा सप्तसती पाठ गरिन्छ । चण्डिकब्जमा १०८ श्लोक वा मन्त्र हुन्छन् । नवरात्र भरी तिनैं १०८ मन्त्रको पाठ तथा व्याख्या गरिन्छ ।

यसरी नवरात्रभरी दुर्गा सप्तसति पाठ गरी नवदुर्गाको पूजा आराधना गरेर पानी चढाइएका जमरा लगाउनाले रोगहरु हटेर जाने तथा नयाँ रोग नलाग्ने जनविस्वास छ । दशमीको दिन दहीमा चामल मुछेर निधारमा टीका तथा शीरमा जमरा लगाउनाले रोग, शोक, भय, दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको छ ।

यस धार्मिक विश्वासलाई आजको बैज्ञानिक युगमा पनि उत्तिकै महत्वका साथ हेरिन्छ । किनभने आज क्यान्सर लगायतका प्राण घातक रोगहरुको निवारणको लागि जमराको जुस खाने गरिन्छ । टीका तथा जमरा दशमीदेखि कोजाग्रत पूर्णिमाको दिन सम्म लगाउने गरिए पनि जमराको शक्ति भने विशेष गरेर नवरात्र पूरा भएको जमरामा मात्र खास ऊर्जा प्राप्त हुने गर्दछ । नेपालको पूर्वी भूभागमा दशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका जमरा लगाउने चलन भए पनि पश्चिमी भूभागमा भने दशमीको दिन मात्र लगाउने चलन छ ।

दैविक कालमा भगवान र दानवबीच युद्ध भई, युद्धमा दानव पक्षको नष्ट गरी देवताहरुको विजय भएको अर्थात शक्तिरुपा दुर्गा भवानीले असुर दैत्य महिसासुर लगायतका शुम्भ, निशुम्भ, चण्ड, मुण्ड आदि आतङ्ककारी दानवहरुलाई परास्त गरी विजय प्राप्त गरेको हुनाले यस चाडलाई विजयादशमी भनिएको विस्वास रहिआएको छ । घटस्थापनाको दिन सुरु भई दशमीको दिन वा १० दिन सम्म चल्ने भएको हुनाले दशमी भनिएको र यहि दशमी शब्दको कालन्तरमा अपभ्रंस भई दसैँ नाम रहन गएको किम्वदन्ति पाइन्छ । नारी शक्तिको उच्च बलले असुर दैत्यको नष्ट गरेको हुनाले यस चाडलाई मातृशक्तिको रुपमा लिई देवीका शक्ति पिठहरुमा पूजा आरधना र बलि दिने प्रचलन छ । नवरात्रमा विशेष गरेर भद्रकाली, गुह्येश्वरी, दक्षिणकाली, नक्शाल भगवती, बज्रयोगिनी, मैतीदेवी, शोभा भगवती, पलाञ्चोक भगवती, मनकामना, भैरवी, वागेश्वरी, गोरखकाली, विन्ध्यावासिनी, ज्वालामाई, जालपादेवी, बडिमालिका आदि शक्तिपिठहरुमा मातृशक्तिको पूजा गरिन्छ ।

दुर्गा भवानीले महिसासुर नामको असुर दैत्यको बध गरेर असत्य माथि सत्यको विजय उत्सवबाट सुरु भएको दसैँ पर्व आर्य खस जातिहरुको मात्र हो भन्ने पनि यदाकदा सुन्न सकिन्छ । नेपालका कतिपय आदिवासी जनजातीहरुले दसैँमा रातो टीका नलगाई सेतो टीका लगाउने प्रचलन छ भने कतिले रातै टीका लगाउँछन् । थोरै संख्याले दसैँ नै मनाउँदैनन् । आदिवासी जनजातीहरुले रातो टीका नलगाउनुको प्रमुख कारण खास आर्यहरुले जनजातीका पुर्खाको बध गरेर त्यसैको रगतमा टीका मुछी लगाएर विजय मनाएको हुनाले जनजातीहरुले दहीमा मुछेको सेतो टिका लगाउने गरेको भन्ने भनाइ छ । तर दसैँको सन्दर्भमा कुनै पनि धार्मिक ग्रन्थ तथा मिथकहरुमा खस आर्यहरु र आदिवासी जनजातीहरुबीच युद्ध भएको तथ्य भेटिदैंन ।

अर्कोतिर दुर्गा र महिसासुरको युद्धलाई नै हेर्ने हो भने पनि जनजातीहरुको पुर्खा असुर दैत्य महिसासुर हो भन्ने प्रमाण तथा कथन पनि कुनै धर्म ग्रन्थमा पाइँदैन । त्यसैले दसैँ खस आर्यको मात्र नभई सम्पूर्ण नेपालीहरुको हो । आदिवासी जनजातीहरुले पनि परापूर्वकाल देखि माया, प्रेम र सद्भावको चाडको रुपमा दसैँलाई मनाउथे र मनाउँदै छन् भन्ने प्रमाण विभिन्न शक्तिपिठमा जनजातिहरु मुख्य पुजारी हुनुले प्रष्ट पार्दछ । जस्तै छिन्ताङ भगवतीमा राई, गोरखाको कालिकास्थानमा मगर, स्याङजाको आलमदेवी मन्दिरमा मगर, दाङको बाराही मन्दिरमा मगर, राजविराजको राजदेवीमा थारु, काठमाडौंको शोभा भगवति र भद्रकालीमा बज्रचार्य, भक्तपुरको नवदुर्गा र पलाञ्चोक भगवतीमा बज्रचार्य पुजारी छन् । यसरी हेर्दा जनजातीहरु नै शक्तिपिठका मुख्य पुजारी भई नवदुर्गाको पूजा आरधना गरी दसैँ मनाउने चलन छ ।

अझ रोचक पक्ष त गण्डकी प्रदेशका कोतहरुमा मगर र ब्राह्मण पुजारी छन् । काली स्थापना गरेको ठाउँमा कालरात्रीको दिन मगर पुजारीले केराको पातमा भातको जाँड कालीलाई चढाउने चलन छ । मगर पुजारीले कालीलाई जाँड चढाए पछि ब्राह्मणले संस्कृतका मन्त्र उच्चारण गरेर संकल्प गर्दछन् ।

कतिपय बुद्ध धर्म मान्ने तामाङ्गहरुले पनि दसैँ टीका तथा जमरा लगाएर मनाउने चलन कायमै छ । त्यसैले यस पर्वलाई आ आफ्नो चलन अनुसार मनाई धार्मिक, सामाजिक र संस्कृतिक सहिस्णुता र सद्भाव कायम राख्नु नेपाल र नेपालीको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?