सरररर चाचाहुइइ…. (फोटोफिचर)

काठमाडौं – दशैँको माहौलले छपक्कै छोपेको छ । दशैँको रमझम शुरु भएसँगै पिङ खेल्दा गुञ्जने यो आवाज ले वातावरण नै उमंगीत तुल्याएको छ ।

नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्ने गर्छन् । काठमाडौँ लगायत देशका शहरमा पनि खुल्ला स्थानमा पिङ हालिन्छ । जात्रा, मेला, महोत्सवहरु र त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम हो ‘पिङ’ । दशैंमा पिङ खेल्ने परम्परा पनि यसै अन्तर्गत नै शुरु भएको हुनसक्छ ।

जे होस् दशैंमा पिङको रौनक नै छुट्टै । पिङ नखेली पनि दशैं मनाइन्छ र मनाए पनि त्यसको के अर्थ त्यसैले अझ बालबालिकाको निम्ति पिङ र दशैं पर्याय हुन् ।

दशैंमा पिङ खेल्नैपर्ने परम्परा ठ्याक्कै कहिले, कहाँ र कसरी शुरु भयो भन्न नसकिएतापनि यसको इतिहास निकै लामो छ । जबदेखि दशैं मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै शुरु गरिएको हो भनेर धेरैले लख काटेका छन् । वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन हो । आकाशचुम्ने लिङ्गे पिङको टुप्पो कटाउन मच्ची मच्ची खेलिरहेको दृश्यले मात्र दशैंलाई निम्तो दिएजस्तो लाग्छ । यही निम्तो पाएपछि मात्रै दशैं पनि टुप्लुक्क हाम्रो दैलोमा आइपुग्छ ।

गाँउ होस या सहर पिङ लगाउने स्थान पनि प्राय ‘फिक्स्ड’ नै हुन्छ कि साझा चौर या मन्दिरको प्राङ्गण । बाँस, लठारो, काम्रो, काठ, आदिको प्रयोगले पिङ बन्ने गर्छ र साथै केही रुपियाँ सङ्कलन गरिन्छ ।

प्राय पिङ दुई प्रकारको हुन्छन् लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो ।
लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्छ ।

बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीहरुको दोहोरी नै चलेको देखिन्छ । ‘कसले बढी मच्चिन सक्ने ?’, ‘कसले लिङ्गो कटाउने ? ’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ ।

त्यस्तै रोटे पिङ बनाउन अलिक बढी मिहिनेत, जनशक्ति र खर्च लाग्ने भएकाले कमै मात्र बनाइन्छ । काठ, डोरी जस्ता स्थानीय वस्तुहरु प्रयोग गरेर बनाइने रोटे पिङमा एकैसाथ धेरैजना मानिसहरुले खेल्न सकिन्छ ।

पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यी सबैको छुट्टै रमाइलो छ दशैंमा ।

लोकपथको लेन्सबाट जे देखियो

तस्वीर : बिप्लब जमकटेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?