दशैँ विदामा पढ्नैपर्ने यी पुस्तक जसले हसाउँछ, रुवाउँछ र केही सिकाउँछ

काठमाडौँ – पुस्तक असल मित्र, सुख र दुःखको साथी हो । जीवन र समाजलाई बुझ्न होस् या बदलिँदो सामाजिक व्यवस्थालाई नियाल्न पुस्तकले मद्दत पु¥याउँछ । जीवन जिउने आधार देखि जीवन जिउन सिकाउने पे्ररक पनि हो पुस्तक ।
पढ्ने आदत भएकाहरुले भन्ने गरेका छन्, ‘मेरो सबैभन्दा असल साथी पुस्तक हो ।’ पाठ्यक्रममात्र नभइ पत्रपत्रिका, तथा विभिन्न साहित्यिक तथा विज्ञान, दर्शन आदि किताब पढ्नाले सकारात्मक विचारको विकास हुन्छ, सृजनात्मक क्षमता बढ्छ र संसारलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन आउँछ । त्यसैले पढाइ सिकाइ तथा सृजनाको माध्यम हो ।
विश्वप्रशिद्ध साहित्यकार थोरोले पनि भनेका छन्, ‘पुरानो कोट लगाउ नयाँ पुस्तक किन ।’
अर्थात्, बरु कपडा पुरानै भए केही फरक पर्दैन तर, नयाँ ज्ञानको प्राप्तिका लागि नयाँनयाँ पुस्तक पढिरहनुपर्छ ।
अन्य समयमा व्यस्तताका कारण प्रशस्त पुस्तक पढ्ने समय नभएपनि चाडवाडका वेला हुने विदामा पुस्तक पढ्नलाई उपयुक्त समय छुट्याउन सकिन्छ ।
नेपालीहरुको महान् पर्व दशैँ नजिकिँदै जाँदा अधिकांश व्यक्ति दङ्ग छन् किनकी दशैँ उत्सव मात्र होइन निकै लामो विदा पनि आफूसँगै लिएर आउँछ ।
यस विदालाई अनावश्यक रुपमा इन्टरनेट चलाएर वा टिभीका अगाडि बसेर दिन बिताउँदै काट्नु भन्दा बरु केही सुन्दर पुस्तकहरु पढेर बिताउने हो भने बढी ‘प्रोडक्टिभ’ हुन सकिएला कि !
यदि तपाईंले कहिले पनि पुस्तक पढ्नुभएको छैन तर, पढ्न इच्छुक हुनुहुन्छ भने हामीले केही त्यस्ता पुस्तकहरुको सूची बनाएका छौं जो सरल छ र अर्थपूर्ण पनि । कहिल्यै पुस्तक नपढ्नेले मात्र नभएर पुस्तकप्रति रुचि भएकाहरुका लागि पनि तल उल्लेख गरिएका पुस्तकहरु राम्रो बसीबियाँलो हुन सक्छन् ।
चिना हराएको मान्छे : हरिवंश आचार्य
चिना हराएको मान्छे नेपाली हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको आत्मसंस्मरणात्मक जीवनी हो । पुस्तक आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भइ बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अन्य विषयलाई समावेश गरिएको छ । यस पुस्तकले जीवनमा आउने समस्यालाई सामना कसरी गर्ने भनेर सिकाउँछ ।

सेतो धरती र करोडौँ कस्तुरी |:अमर न्यौपाने
सेतो धरती : मदन पुरस्कार प्राप्त कृति हो सेतो धर्ती । २०६८ सालमा प्रकाशित ‘सेतो धरती’ उपन्यास बाल्यकालमै विधवा भएर कष्टकर जीवन जिउन बाध्य एक नारी, ताराको करुण कथामा आधारित छ । उपन्यासकी नायिका ताराको ७ वर्षको उमेरमा विवाह गरि दिइएको हुन्छ । ९ वर्षको उमेरमै उसको विधवाको जीवन सुरु हुन्छ । छोरी मान्छेको कठोर संघर्ष र प्रताडनाको विषयमा केन्द्रित छ उपन्यास ।

करोडौं कस्तुरी : यस उपन्यासमा करोडौँ निमुखाहरू कस्तुरीले जस्तै बिना चिन्न नसकेर जीवनभर असफल भएको घोषणा गर्न विवस सन्दर्भ मिहिन ढंगले केलाइएको छ । कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको यस पुस्तकमा वनको कस्तूरी, जो आफ्नै नाभीमा भएको बिनाको सुगन्ध पनि कहाँबाट आयो भन्ने थाहा नपाएर फूलबाट आयो कि पातबाट आयो, माटोबाट आयो कि पानीबाट आयो भनेर खोज्दै भौँतारिइरहन्छ । कहाँबाट सुगन्ध आएको हो भन्ने थाहा नपाएरै कस्तूरी मर्छ । तर, मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्दछ । क्षमता राख्राराख्दै पनि करोडौं कस्तूरी आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मर्ने गरेका छन् । करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन् । यही परिवेशमा केन्द्रित छ उपन्यास ।
जीवन काँडा कि फूल : झमक घिमिरे (मदन पुरस्कारप्राप्त)
जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा व्यक्त गरेकी छिन् ।
अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निस्किएको ज्वाला हो जीवन काँडा कि फूल ।
मानिस भित्रको पीडाको छट्पटी ओकल्न नपाउँदा कस्तो हुन्छ ? एक चेतनशील मानिसले अर्को चेतनशील मानिसलाई दबाइरहँदा दबिएको व्यक्तिको भावनामा कति ठूलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ ।

पल्पसा क्याफे : नारायण वाग्ले (मदन पुरस्कारप्राप्त)
पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित चर्चित नेपाली उपन्यास हो ।
यस उपन्यासमा तत्कालीन नेपाली द्वन्द्वको चित्रण गरिएको छ । माओवादी युद्धताका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रुपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ । तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक विषयहरू समावेश गरिएको छ ।

शिरीषको फुल : पारिजात (मदन पुरस्कारप्राप्त)
पारिजातको रचना हो शिरीषको फूल जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । त्यसबेलाको पुरुषप्रधान नेपाली समाजमा सकम्बरीको विद्रोही रूपलाई कलात्मक रूपमा उतारिएको छ यस उपन्यासमा । जीवनको महाशून्यलाई अनुभव गर्ने, निरर्थकता, जीवनको असफलता, दुर्भाग्य र निस्सारतालाई स्वीकार गर्न शिरीषको फूलबाट सिक्न सकिन्छ ।

विनोद चौधरी : विनोद चौधरी
विनोद चौधरीद्वारा लिखित विनोद चौधरी एक आत्मकथा हो । यस पुस्तकमा उनका जीवनका अनुभव र राजनीतिक, सामाजिक एवं आर्थिक विषयवस्तु समेटिएका छन् ।
यस पुस्तकबाट साधारण व्यक्तिबाट एक सफल व्यक्ति कसरी बन्न सकिन्छ भन्ने कुराको पे्ररणा लिन सकिन्छ ।

आफ्नो कथा : विश्वेश्वरप्रसाद कोइराला
आफ्नो कथा, विश्वेश्वरप्रसाद कोइरालाको आत्मकथा हो । कोइरालाले आफ्नो जीवनको भोगाइ, दुख र संर्घषलाई यस पुस्तकमा समावेश गरेका छन् ।

महको म : मदनकृष्ण श्रेष्ठ
वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा हो, ‘महको म’। यस पुस्तकामा श्रेठको बाल्यकालदेखिका सम्पूर्ण अनुभूति समेटिएका छन् । उनको जन्म, पढाई, भोगाई, जीवनका हरेक संर्घष, कलाकारिताको शुरुवाती दिन, उनको रोग, उनका शुभचिन्तकहरुले दिएका सन्देश यसमा लेखिएको छ । यस पुस्तकले जीवनमा आउने सबै परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने कुरा सिकाउँछ ।

लेखककी स्वास्नी : प्रगति राई
‘लेखककी स्वास्नी’ उपन्यास प्रगति राईले लेखेकी हुन् । यस उपन्यासमा नेपाली आम महिलाको भोगाइ र एउटा सिङ्गो समाजको यथार्तता समेटिएको छ ।

उपन्यासले उठाएको मुख्य मुद्दा भनेको संसारका मानिसहरूको दुःखको विरुद्द कलम चलाउने लेखकले आफ्नै परिवारभित्रका छोरीहरूको अस्तित्वलाई बेवास्ता गरिरहेको ठूलो भूल देखाउनु हो । यी बाहेक, उपन्यासमा जीवन उपयोगी दर्शन, चिन्तन, कला, बिम्ब, प्रतिक, भाषा, संस्कृती, प्रेम, धर्यता, अभाव, बाध्यता, मनोविज्ञान, सामाजिक विभेदको दर्पणहरुलाई प्रस्तुत गरिएको छ ।

मेरा जीवनका पाना : गौरा प्रसाईं (साझा पुरस्कार )
एमाले नेतृ समेत रहेकी गौरा प्रसाईंले तत्कालीन पञ्चायती व्यवस्थाका बेला पार्टीमा भूमिगत हुँदाका क्षण, अपहरणमा परेर भारतको वेश्यालयमा बेचिनु पर्दाको अवस्था, जेल तथा प्रवास जीवन लगायत बेग्लाबेग्लै शीर्षकमा आत्मपरक जीवन संस्मरण इमान्दारी पूर्वक पुस्तकमा उतारेकी छन् ।
कर्नाली ब्लुज : बुद्धिसागर
कर्नाली ब्लुज बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यस उपन्यासमा लेखकले पश्चिम नेपालको तराईको गाउँ देखि विकट जिल्ला कालिकोटको पहाडी परिवेशको बारेमा लेखेका छन् ।
बाल्य र किशोरावस्थाका उट्पट्याङ, बठ्याईंसँगै जीवन–भोगाइका क्रममा आइलागेका कयौँ घटनाक्रम बुद्धिसागरको लेखकीय खुबीका कारण हाँस्दाहाँस्दै हृदय पगाल्ने लेखनी बनेको छ । यसमा नेपाली समाजमा विद्यमान विकृतिसँगै माओवादीको १० वर्षे हिंसात्मक विद्रोहका असर–प्रभाव लगायतका थुप्रै पाटोहरू खोतलिएको छ ।
विकासको प्रवेशले नयाँ बस्तीको निर्माण र विस्थापनलाई पनि देखाएको छ । पुरानो पुस्ताको अवसान र नयाँ पुस्तालाई आएका चुनौतीको पनि सङ्केत गरेको छ ।

खुसी :  विजय कुमार
विजय कुमारको जीवन अनुभवको पुस्तक खुशीमा पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्न सक्छौंँ ।

काठमाडौँमा एक दिन : शिवानी सिंह थारू
मोडल, सञ्चारकर्मी शिवानी सिंह थारुद्वारा लिखित उपन्यास हो, काठमाडौंमा एक दिन । ‘काठमाडौँमा एक दिन’ जनआन्दोलन २०६२÷६३ को समय र त्यतिबेलाको मधेसी परिवेशलाई समेटेर लेखिएको पुस्तक हो ।
एक दिनको कथामा लेखिएको यो पुस्तकको विशेषता पात्रमाथिको निरपेक्षता हो ।

तीन घुम्ती : विश्वेश्वरप्रसाद कोइराला
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित तीन घुम्ती (उपन्यास)मा नारीका तीन रुप प्रेमिका, पत्नी र आमाको चित्रण गरिएको छ ।
एउटी नारीको तीनवटा छुट्टाछट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।

यी पुस्तकहरु पनि पढ्न सक्नुहुन्छ :

१. दि एल्किमिस्ट : पाओलो कोएल्हो
चर्चित ब्राजिलियन लेखक पाओलो कोएल्होद्वारा लेखिएको यो पुस्तक अन्तर्राष्ट्रिय बेस्टसेलर पनि हो । मानिसको जीवनमा सपनाको मूल्य र त्यसलाई प्राप्त गर्ने यात्राका बारेमा अत्यन्तै प्रतीकात्मक ढङ्गले लेखिएको यस पुस्तकले अन्तिमसम्म पनि पाठकको ध्यान खिचिरहन्छ ।

२. लभ इन द टाइम अफ कोलेरा : गार्बियल गार्सिया मार्खेज
संसारमा सबैभन्दा बढी प्रेमकथाहरू लेखिन्छन् तर प्रेमकथा कसरी लेख्नुपर्छ यसले सिकाउँछ ।

३. द गुड अर्थ : पर्ल एस बक
एउटा किसानको संघर्षको कथा, जसले किसानप्रति सद्भाव जगाउँछ र संघर्ष गर्ने प्रेरणा दिन्छ ।

४. स्नो : ओरहान पामुक
वर्णनात्मक लेखनीको उच्च नमुना हो यो पुस्तक । प्राय कविलाई सोधिने सामान्य प्रश्न तपाईको कविताको प्रेरणा के हो ? को गम्भीर उत्तर हो, सम्पूर्ण उपन्यास ।

५. दि स्टोरी टेलर : मारियो भर्गास लोसा
अर्को समुदायका विषयमा कसरी विश्वसनीय ढंगले लेख्न सकिन्छ भन्ने उदाहरण । पुस्तक लेखनमा रिसर्च गर्न सिकाउँछ ।

६. दी वल्ड म्यान एन्ड द सी : अर्नेस्ट हेमिङ्बे
सफलताका सूत्र सिकाउने अहिलेका बजारु किताबभन्दा फरक ढंगले यसले संघर्ष गरिरहन प्रेरणा दिन्छ ।

७. लाइफ अफ् पाई : यान मार्टेल
बाघ र मानिसको मित्रताको अनौठो कथा । लोभलाग्दो काल्पनिक उडान ।

८. द बुक थिफ :मार्कस जुसक
पुस्तकसितको प्रेममा परेकी एक किशोरीको कथा । संकटमा कथाहरू कसरी काम लाग्छन् ? यसको उदाहरण । पुस्तक लेख्दा अक्षरहरू कसरी फारो गर्नुपर्छ यसले सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?