धुलिखेलमा यसरी तय भयो ज्ञानेन्द्रको भारत भ्रमण, ओलीको ग्रीन सिग्नल !

काठमाडौँ, २५ पुस – पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए, नयाँ पत्रिकामा खबर छ निर्मलनिवास स्रोतका अनुसार भारतीय राजदूत मन्जिबसिंह पुरी र पूर्वराजाबीच धुलिखेलमा मंसिर पहिलो साता भेट भएको थियो । ६ देखि ९ मंसिरसम्म द्वारिकाज रिसोर्टमा रहेका ज्ञानेन्द्रलाई भेट्न पुरी त्यहाँ पुगेका थिए । ‘त्यतिवेलै पूर्वराजाको यो भ्रमण तय भएको हो, भारत सरकारको पूर्णतयारीसाथ उहाँलाई लखनउ बोलाइएको हो,’ जानकार स्रोतले भन्यो । ‘ज्ञानेन्द्रको लखनउ भ्रमण दसैँ र तिहारको बीचमा नै हुने तयारी थियो, तर निर्वाचनको समय पारेर उनको भ्रमण गराउँदा राम्रो सन्देश जाँदैन भन्ने लागेपछि मंसिर पहिलो साता राजदूतले उहाँलाई भेटेर यो मिति तय गरेका हुन्,’ जानकार स्रोतले भन्यो धुलिखेलमा तय भएपछि पूर्वराजाको भारत भ्रमणबारे महासंघ अध्यक्ष भरतकेशर सिंहले पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जानकारी गराएका थिए देउवा र ओलीले पूर्वराजालाई ‘ग्रिन सिग्नल’ दिएको महासंघ स्रोतको भनाइ छ । त्यसवेला देउवाले हिन्दू राष्ट्रको पक्षमा आफू रहेको तथा राजसंस्था हटाउन आफ्नो भूमिका नरहेको जवाफ महासंघ पदाधिकारीलाई दिएका थिए पटक–पटक दिल्ली भ्रमणमा जाँदा पूर्वराजाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए । तर, ती सबै भेटवार्ता सार्वजनिक भएका थिएनन् । स्रोतका अनुसार भेटवार्ताको सुरुमा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह पनि सहभागी थिए । ‘सुरुवातमा पूर्वराजासँग महासंघका अध्यक्ष सिंह, पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना तथा आदित्यनाथका सेक्रेटरी र उत्तरप्रदेश सरकारका उच्च अधिकारी सहभागी थिए । औपचारिकतापछि दुवैजनाका बीचमा ४५ मिनेट एक्लाएक्लै कुराकानी पनि भयो,’ भेटवार्ताबारे जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो । आदित्यनाथ अहिले पनि विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष र सिंह अध्यक्ष हुन् । महासंघको अन्तर्राष्ट्रिय समितिले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली हुनुपर्ने माग गर्दै आएको छ । बिहान ९ बजे मुख्यमन्त्री आदित्यनाथले पूर्वराजालाई निवासको बाहिरी गेटमै स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?