पाकिस्तानको सहज जितमा श्रीलंका स्तब्ध

एजेन्सी । एकदिवसीय क्रिकेटमा पाकिस्तानले श्रीलंकाविरुद्धको खेलमा सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो ।

कराचीमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ ओभर ५ बलमा अलआउट हुँदै २३८ रनमा सिमित बन्यो ।

श्रीलंकाका लागि सेहन जयसूर्याले ९६ तथा डसुन सनकाले ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हसरंगा डी सिल्भाले ३० रन जोडे । पाकिस्तानका उस्मान सिनवारीले एक्लैले ५ विकेट लिए । शाहदब खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले ११५ रनको शतकीय इनिङ्स खेले । फखर जमानले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा हरिस सोहिलले ४० रन बनाए । श्रीलंकाका हसरंगा डी सिल्भाले २ विकेट लिए ।

जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल भने वर्षाको कारण नतिजाविहीन सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?