सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ : प्रचण्ड

रुपन्देही । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताउनुभयो । उहाँले विदेशी लगानी कर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताउनुभयो ।

उहाँले प्रदेश नं– ५ मा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै भन्नुभयो–“गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ ।”

अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले हाम्रो सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा विर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । “२५० वर्ष लामो तानशाही र निरङ्कुताले जर्जर बनाएको समाजलाई डेढवर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन, तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ ।” उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो । “जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ ।” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?