मल आपूर्तिमा सहज : किसान मख्ख

काठमाडौं । तनहुँ, गोरखा र लमजुङमा अहिले मल आपूर्तिमा सहज भएको छ ।

यी तीन जिल्लामा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखामा युरिया मल पर्याप्त मात्रामा आएपछि मल आपूर्तिमा सहज भएको हो ।

गत साउन महीनादेखि मलको लागि लामो समय प्रतिक्षामा बसेका किसानले पछिल्लो समयमा पर्याप्त मात्रामा मल लैजान पाएपछि हर्षित भएका छन् । “अव किसानलाई मलको अभाव हँुदैन”, कम्पनीका शाखा प्रबन्धक बलबहादुर पन्थले भन्नुभयो, “कार्यालयमा १९० टन मल भित्रिएकाले किसानले माग गरे अनुरुप लैजान सक्नेछन् ।”

कार्यालयले तीन जिल्लाका ११५ सहकारीमार्फत मल वितरण कार्य थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयले निर्धारण गरेका सबै सहकारीलाई समानुपातिक ढङ्गबाट मल वितरण गरेपछि सहकारीबाट किसानले मल पाउने छन् ।

समयमा मल नआउँदा किसानले चर्को सास्ती भोग्नुपरेको थियो । ब्यास नगरपालिका—३ स्थित नवीन उपभोक्ता सहकारी संस्थाका सञ्चालक अतिन्द्र केशरी न्यौपानेले मलको आपूर्तिमा सहज भएपछि मलको अभाव नभएको बताउनुभयो । “किसानले चाहेअनुरुपको परिणाममा मल लैजान पाएका छन्”, उहाँले भन्नुभयो, “केही दिनअघि मलको अभाव हुँदा वितरणमासमेत समस्या भएको थियो ।”

धानबालीमा युरिया मल हाल्ने समयमा साउनदेखि मल बेच्न नपाएका कारण बिहानैदेखि पसलमा मानिसको भीड लाग्ने गरे पनि मल सहजरुपमा पाउन थालेपछि भीड हट्दै गएको उहाँले बताउनुभयो ।

केही दिन युरिया मलको अभाव देखिए पनि पोटास र डिएपी मल भने कम्पनीमा मौज्दात रहेको शाखा प्रबन्धक पन्थले बताउनुभयो । युरिया मलले धान र कोदोबाली पसाउने, बालीनाली सप्रने, गाँज ठूलो बनाउने, उत्पादनमा राम्रो हुने भएकाले किसानको रासायनिक मलप्रति आर्कषण बढ्दै गएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यालय तनहुँका प्रमुख कुलप्रसाद अधिकारीले अर्थ मन्त्रालयले प्रशस्त बजेट छुट्टाउन नसक्दा रासायनिक मलको समस्या वर्षेनी उस्तै रहने गरेको बताउनुभयो । “नेपालमा सबै किसानको माग पूरा गर्नका लागि आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “सरकारले साढे तीन लाख मेट्रिक टनको लागि अनुदान दिने हुँदा समस्या समाधान गर्न गाह्रो भएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?