फिल्मी शैलीमा प्रहरीकै अपहरण, गाँजा तस्करलाई समात्न गोली हानियो

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानेर एकजना गाँजा तस्करलाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिकाघ–२९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी भयो घटना

सोमबार राति साढे १ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वको टोलीले सवारी साधन चेक जाँच गर्दै थियो । पक्राउ परेका अभियुक्त चौधरीले चलाएको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक पनि सुरक्षा जाँच गर्ने क्रममा फेला परेको थियो । ट्रक चालक चौधरीले ट्रकमा ७८ किलो गाँजा ल्याएको थाहा पाए लगत्तै प्रहरी जवान सञ्जीवकुमार दासले सोधपुछ गर्न सुरु गर्दा चालक चौधरी र ट्रकमा रहेका अर्का व्यक्तिले प्रहरी जवान दासलाई समातेर ट्रक कुदाए ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवहाको नेतृत्वले तुरुन्तै भ्यानसहित ट्रकलाई पछ्याएपनि भेट्न भने सकेन ।

प्रहरी जवानलाई यसरी बचाइयो

साढे ३ किलोमिटर पर चुरियामाई नजिकै ट्रक रोकेर प्रहरी जवान दासलाई लछारपछार गर्दै जंगलतर्फ लैजाँदै गर्दा प्रहरीको भ्यान आइपुग्यो । प्रहरी टोलीले पहिले दासलाई बचाउन खोजेको थियो । तर चालक चौधरी र अर्का व्यक्ति शारीरिक रुपमा बलियो भएकाले दास फुत्किन नसकेको प्रहरी निरीक्षक कुशवाको भनाई छ । प्रहरी जवान दासलाई जंगलभित्र लग्न थालेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको कुशवाहले बतानुभयो ।

दोस्रो राउण्डको गोली चालक चौधरीलाई लागेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर, चौधरीसँगै रहेका अर्का व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली लागेका चालक चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनामा अन्य एक प्रहरीसमेत घाइते भएका छन् । चौधरीले चलाएको ट्रकको क्याबिन र छतबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?