गोपाल खड्काको दिन गन्ति सुरू, मन्त्रीले गरे हिम्मत

काठमाडौँ, २८ भदौ- नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो । सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने स्रोतले बताएको छ, नयाँ पत्रिकामा खबर छ ।१४ माघ ०७१ मा निगम प्रमुख भएयता बारम्बार विवादमा तानिँदै आएका खड्कालाई आपूर्तिमन्त्री शिवकुमार मण्डल पदमुक्त गर्ने तयारीमा जुटेका छन् । ‘आगामी मन्त्रिपरिषद् बैठकमा निगमको जग्गा खरिदमा भएको अनियमितताको विषयले प्रवेश पाउँछ,’ उनले भने, ‘त्यहीँबाट वर्तमान कानुनले दिएको अधिकार प्रयोग गरी निर्णय हुन्छ ।’

मन्त्री मण्डलले खड्कालाई कारबाही गर्नकै लागि सचिव परिवर्तन गरेको बताएका छन् । निगमलाई टेन्डरबाट जग्गा खरिदको स्वीकृति दिने सञ्चालक समितिको अध्यक्षसमेत रहेका सचिव प्रेमकुमार राईलाई हटाएर मन्त्री मण्डलले कृष्णप्रसाद देवकोटालाई सचिवमा ल्याएका थिए । सचिव देवकोटाले छोटो समयमै अध्ययन टुंग्याएर निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्नुपर्ने सिफारिस गरेका हुन् ।

राप्रपाबाट प्रतिनिधित्व गरेका तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाकै प्रस्तावमा खड्काले १४ माघ ०७१ बाट निगम प्रमुखको नियुक्ति लिएका हुन् । अहिले कारबाहीको प्रस्ताव पेस हुन लाग्दा पनि राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट थापा उद्योगमन्त्री छन् र खड्कालाई हटाउने प्रस्तावको साक्षी बन्दै छन् ।

योभन्दा रोचक त टेन्डरबाट निजी जग्गा खरिदका लागि दबाब दिने तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासमेत वर्तमान मन्त्रिमण्डलमा छन् । उनी हाल विज्ञान तथा प्रविधिमन्त्री छन् । बोहोराकै नेतृत्वमा जग्गा खरिदमा अनियमितता भएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले सोमबार दिएको प्रतिवेदनमा उल्लेख छ ।

आयल निगमको जग्गा खरिदसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार गर्न गठित उपसमितिका संयोजक सुभाषचन्द्र साह ठकुरीले तत्कालीन आपूर्तिमन्त्री बोहोराले निजी जग्गा खरिद गर्ने विषयमा बारम्बार बैठक डाकेको जानकारी दिए । ‘पेट्रोलियम भण्डारणका लागि टेन्डरबाट जग्गा खरिद गर्न बहालवाला मन्त्रीले पटक–पटक ताकेता गरेको अध्ययनबाट देखिएको छ,’ उनले भने ।

खड्कालाई नियुक्त गर्ने र जग्गा खरिदमा अनियमितता गर्न नेतृत्व दिने दुई मन्त्रीकै अगाडि वर्तमान आपूर्तिमन्त्री मण्डलले कारबाहीको सिफारिस प्रस्ताव गर्नु चुनौतीपूर्ण रहेको सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?