नेकपालाई ‘सी’ कक्षा कांग्रेस सशंकित

appharu
0
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका नेताका लागि भइरहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामा आधारित ‘कक्षा’प्रति शंका व्यक्त गरेको छ ।

कांग्रेसले चिनियाँ राष्ट्रपति सीको बटमलाइनअनुसार नै नेपालमा सत्तामा रहेका दलका नेतालाई प्रशिक्षण हुन लागेको र सो प्रशिक्षण नेपालको हितमा नरहने जनाएको हो ।
नेपालमा सुदृढ बन्दै गएको लोकतन्त्र, मौलाएको प्रजातन्त्र, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, मानवअधिकार र नेपालमा विद्यमान अवस्थामा रहेको संसदीय व्यवस्थालाई नै सी ‘कक्षा’ ले भविष्यमा असर गर्न सक्ने कांग्रेसले जनाएको छ ।

चीनमा एक दलीय व्यवस्था रहेको र नेपालमा चीनको भन्दा फरक राजनीतिक अवस्था रहेका कारण चीनको अर्थनीतिबाहेकको प्रशिक्षणले नेपाललाई फाइदा नगर्ने कांग्रेस नेताहरूले बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनको नीति नै राजनीतिमा उदारता नभएकाले सी विचारधारा नेपालको हितमा नहुने र यसको असर बिस्तारै देखिने बताए । ‘चीनको नीति अर्थतन्त्रमा उदार छ, यो बाटोले त फाइदा पनि गर्ला तर राजनीतिमा उदारनीति छैन ।

राजनीतिमा उदार नीति भएको देशमा सी विचारधाराले नेपालका कम्युनिस्टलाई पनि सोही विचारधारातर्फ लैजान सक्छ । यसले हाम्रो मोडलको लोकतन्त्रसहित शासन व्यवस्थामा नै असर गर्न सक्छ । यो प्रशिक्षण हाम्रो देशको हितमा छैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार संविधानभन्दा बाहिरबाट हिँड्न खोजेकाले यस्ता घटना देखिन थालेको बताए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?