मेडिकल कलेजलाई बढी लिएकाे शुल्क फिर्ता गर्न सरकारकाे निर्देशन

काठमाडौं । सरकारले तोकिएको भन्दा बढी शिक्षण शुल्क लिने मेडिकल कलेजलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा गृहमन्त्री रामबहादुर थापा समेतको उपस्थितीमा सोमबार बसेको बैठकले विभिन्न शीर्षकमा विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको पुष्टी भएपछि सरकारले मेडिकल कलेज सञ्चालकलाई यस्तो निर्देशन दिएको हो ।

कलेजले शुल्क फिर्ता गरेरनगरेको स्थानीय प्रशासनले अनुगमन गर्ने र नगरेको पाइएमा स्थानीय प्रशासनले कार्वाही प्रकृयाअघि बढाउने अधिकार दिइएको शिक्षा मन्त्रीका स्वकीय सचिव पुरण केसीले जानकारी दिनुभयो । बैठकबारे जानकारी दिँदै उहाँले भन्नुभयो–‘अनुगमन र कार्वाही प्रकृया अघि बढाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।’

बैठकमा गृहमन्त्री थापा, शिक्षामन्त्री पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राडा सुधा त्रिपाठी, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदिश अग्रवाल,रजिष्टार डिल्ली उप्रेती सहभागी हुनुहुन्थ्यो । त्यसैगरी शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सहितका बरिष्ठ अधिकारी पनि बैठकमा सहभागी थिए ।

त्रिवीको सम्बन्धनमा सञ्चालित नीजि मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिने गरेका छन् । चितवन मेडिकल कलेजले हिजो आइतबार एक महिनाभित्र शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएपछि गत महिनादेखिको विद्यार्थीको आन्दोलन स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?