साफ यू–१८ फुटबल : भारतसँग बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा

काठमाडौं । बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हो ।

शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो ।

बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न भने सकेन । यस्तै खेलको चौंथो मिनेटमै भारतका पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह घाइते भएका थिए । बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई हस्पिटल लगिएको थियो ।

यो बराबरीसँगै समूह ’बी’ को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । र, यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । बराबरीसँगै भारतले १ अंक जोडेको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ । श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ । अहिले सम्म श्रीलंका अंकविहिन रहेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?