लोक सङ्गीतको संरक्षणमा काम गर्छु : अध्यक्ष गुरुङ

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित लोक दोहोरी गायक सुरेन्द्र गुरुङले नेपाली लोकगीतको समग्र विकासका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

प्रथम अधिवेशनबाट अध्यक्षको जिम्मेवारी ग्रहण गर्नुभएका गुरुङले गण्डकी प्रदेश लोकसंस्कृतिको राजधानी भएकाले यसभित्र देखिएका विकृति-विसङ्गतिलाई चिर्दै लोक सङ्गीतमा देशको पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा पु-याउन आफ्नो नेतृत्वको टोली लाग्ने बताउनुभयो ।

उहाँले राससलाई प्रतिक्रिया दिँदै कलाकार कल्याणकारी कोषलाई चार लाखबाट ११ लाख १०० पु-याउने लक्ष्य आफूले लिएको बताउनुभयो । विभिन्न समयमा हुने मेला महोत्सवमा कलाकारको पारिश्रमिकमा विचौलियाहरुको चलखेललाई निरुत्साहित गरेर लोक कलाकारको उचित पारिश्रमिक र हकहितमा काम गर्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङले समग्र लोकसङ्गीतको विकास र कलाकारको हकहितको पक्षमा आफू निडर र निर्भिक रुपमा लागिपर्ने बताउँदै अहिले गण्डकी प्रदेशको पोखरामा मात्रै ३० वटा दोहोरी साँझ रहेको जानकारी दिनुभयो ।

सो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार, प्रथम उपाध्यक्षमा केशव देवकोटा र द्वितीय उपाध्यक्षमा आरसी पौडेल, महिला उपाध्यक्षमा माया गुरुङ, सचिवमा राजन कार्की र महिला सचिवमा मञ्जु विक तथा सहसचिव ज्योति लोहनीलाई सर्वसम्मत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?