‘टीकापुर घटनाका विषयमा छलफल जारी छ’ : नेकपा अध्यक्ष दाहाल

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले टिकापुर घटनाका विषयमा छलफल भएको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आदिवासी थारूहरु आन्दोलनका सहयात्री हुन् । हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने सङ्कल्प गरेका छौँ ।”

अध्यक्ष दाहालले राष्ट्र समृद्धि र समाजवादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “थारूहरुको मात्र आन्दोलन उनीहरुको मात्र होइन, सबैको आन्दोलन हो, यसको समाधानको बाटोमा लाग्नुपर्छ ।” अध्यक्ष दाहालले देशमा सञ्चालन भएका सबैखाले आन्दोलनमा थारूहरुको सहभागिता रहेको समेत उल्लेख गर्नुभयो । तराईको भूमिपुत्रका रुपमा रहेका थारूहरु राष्ट्रनिर्माणका लागि सधैँ पहरेदारको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

नेपालका थारूहरुको योगदान विशिष्ट रहेको बताउँदै उहाँले सामाजिक रुपान्तरणका निम्ति थारूहरुको योगदान विशिष्ट स्मरण गर्नुभयो । सो अवसरमा नेकपा सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य, कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी लगायतका व्यक्तिहरुले जितिया पर्वको शुभकामना दिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?