पछि हटे बामदेवः कास्कीबाट चुनाव नलड्ने

appharu
0
Shares

काठमाडौं – पटक पटक संसदमा आउने चाहना राख्दै आएका नेकपा नेता वामदेव गौतम कास्कीबाट पनि चुनाव नलड्ने भएका छन् ।
गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नबन्ने जानकारी गराएका छन् । यसअघि उनी कास्कीबाट उम्मेदवार बन्ने चर्चा थियो ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि सभा २ बाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

सोही प्रसंगमा उनले भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

उनी गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका थिए । त्यसपछि उनले डोल्पा र काठमाडौं ७ बाट उम्मेदवार बन्ने चाहना राखेपनि त्यो सफल भएन ।
यसैबीच गौतमले कास्कीमा स्थानीय नेताहरुलाई उठाउँदा सहज जित हुने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष गौतमले भने, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ जनप्रतिनिधिबिहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?