पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताउनुभयो । “पहिराले चार वटा पोल पूर्णरुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ”, उहाँले भन्नुभयो, “अवरुद्ध विद्युत् पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्रीसहित प्राविधिक टोली घटनास्थल पठाइएको छ ।”

हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुक्खा पहिराका कारण अवरुद्ध विद्युत् कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणसमेत बेखबर छ । दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।

विद्युत् अवरुद्धका कारण दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चार माध्यम, व्यापार/व्यवसाय तथा बैंक तथा वित्तीय करोवार प्रभावित भएको छ । दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्नेक्रममा विद्युत् पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।

प्रदेश नं १ मा पर्ने खोटाङ र ओखलढुङ्गामा बुइँपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ । दुई जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटकपटक अवरुद्ध हुने गरेको हो ।

विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगा खोलासँगै ठाउँठाउँमा घना जङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दा पनि दुबै जिल्लामा विद्युत् अवरुद्ध हुने गरेको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधानतर्फ कसैको ध्यान नगएकोप्रति विद्युत् उपभोक्ता आक्रोशित बनेका छन् । यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी थपिएकाले पनि समस्या भएको हो ।

पटकपटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा विद्युत् प्राधिकरण खोटाङमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेर बिचल्ली बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?