सेनाको हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या, १५ दिनपछि सेफ्टी ट्याकींमा भेटियो शव

नवलपरासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । विगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपालीका ४१ वर्षीय रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्यांकीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र नेपाली सेनाका हवल्दार बमबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाण्डेको हत्या आरोपमा कालीध्वज गण परासीमा कार्यरत घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी सरस्वतीले आफूसहित घर्तीसँग मिलेर श्रीमानको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

हत्यामा सलग्न घर्तीसँग उनको सम्बन्ध रहेको खुल्न आएको र उक्त सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

हत्यामा संलग्न रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ आदेशसमेत प्राप्त भएकाले उनीहरुविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?