प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने युवा–विद्यार्थी नेताहरुको चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा–विद्यार्थी नेताहरूले प्रतिगामी तत्वहरुले टाउको उठाए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

संविधान दिवसको सन्दर्भमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा माइतीघर मण्डलामा आयोजित शुभकामना आदान प्रदान तथा दीप प्रज्वलन कार्यक्रममा विद्यार्थी नेताहरुले प्रतिगामीहरु सल्बलाउन थालेको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले मुलुक प्रतिगमनतर्फ जान नसक्ने भन्दै प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने चेतावनी दिनुभयो ।

नेकपाकै अर्को केन्द्रीय सदस्य हिमाल शर्माले मसानघाटमा पुगेका भूतप्रेतहरु जाग्न थालेकोमा आक्रोश व्यक्त गर्नुभयो । ‘ठूलो वलिदानबाट प्राप्त संविधान र गणतन्त्र विरोधी धमिराहरुलाई वेलैमा ठेगान लगाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

अनेरास्ववियूका संयोजक ऐन महरले युवा विद्यार्थी चुप वस्दा प्रतिगामीहरु सल्बलाउन थालेको भन्दै गणतन्त्र र संविधानको रक्षाको जिम्मा युवा विद्यार्थीहरुले लिने बताउनुभयो ।

अनेरास्ववियूका अर्का नेता सुरेन्द्र बस्नेतले संविधानमा नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हक कार्यान्वयनमा जुट्नुपर्ने बेला आएको बताउनुभयो ।

पाँचौ संविधान दिवसको सन्दर्भमा माइतीघर मण्डलामा आयोजित शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रममा नेकपाका युवा सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, नविना लामा, अनेरास्ववियूका पूर्वअध्यक्षहरु ठाकुर गैरे, हिमाल शर्मा, रमेश मल्ल, माधव ढुंगेल, रत्न ढकाल, नेता सरोज यादव, अनिल शर्मालगायतले दीप प्रज्जवलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?