पञ्चायत विरुद्धको आन्दोलनमा भूमिगत रूपमा बस्ने थलाे कीर्तिपुर थियो : प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताउनुभएको छ । शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ । मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ ।’

उहाँले आफू २०/२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताउनुभयो ।

‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तक्र्रिया गर्ने थलो पाँगा, कीर्तिपुर थियो,’ अध्यक्ष दाहालले भन्नुभयो ।

साथै उहाँले पहिलो संविधानसभा निर्वाचनमा पनि आफू कीर्तिपुरबाट विजयी भएर गणतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री बनेको स्मरण गर्नुभयो ।

‘पहिलो संविधानसभामा निर्वाचन लड्ने थलो पनि मेरो कीर्तिपुर नै हुन आइपुग्यो । निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुने अबसर प्राप्त भयो,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?