राजपाले संविधानको विरोधमा मनायो ‘कालो दिन’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई कालो दिनको रूपमा मनाएको छ । विभेदकारी र त्रुटीपूर्ण संविधान जारी भएको भन्दै राजपाले असोज ३ लाई कालो दिनका रुपमा मनाएको हो । आफ्ना मागहरू समावेश गर्न संविधान संशोधन नगरेसम्म संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय अनुसार राजपाले विभिन्न ठाउँमा विरोध सभासमेत गरेको छ ।
राजपाका नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पनि शुक्रबार विरोध सभा गरे । नागरिकता, सीमांकन, समावेशीताका आफ्ना मुद्दाहरूको सम्बोधन नभई संविधान बनेको भन्दै राजपाले संविधान बनाउने बेलादेखि नै आन्दोलन गरेको थियो ।

संविधान जारी गर्ने बेला संसद बहिस्कार गरेको राजपाले संविधान संशोधन गर्ने सरकारी प्रतिवद्धतापछि भने संसद फर्किएको थियो । संविधानका केही बुँदामा अझै पनि असहमति रहेको भन्दै राजपाले संविधान जारी भएपछिका यी चारै वर्ष असोज ३ लाई कालो दिन भनेर मनाउँदै आएको छ ।

मधेशी जनतामाथि लाठीचार्ज गरेर, मधेशमा कर्फ्यू लगाएर संविधान ल्याइएको र आफूले राखेका मागहरू संविधानमा नसमेटिएसम्म असोज ३ गतेलाई कालो दिनकै रूपमा मनाइरहने राजपाले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?