साफ यू–१८ फुटबल : मनिषको गोलमा नेपालको बराबरी

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले बराबरी खेलेको छ । साविक विजेता समेत रहेको नेपालले शुक्रबार भएको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

एपीएफको हलचोक मैदानमा सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । नेपालको बराबरीमा डेब्यु गर्नुभएका मनिष डाँगी नायक बने । उहाँले खेलको ७५ औं मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाउनुभएको हो ।
त्यसअघि खेलको १३ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गर्नुभएको थियो ।

बराबरीसँगै समूह ’ए’ मा रहेको नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक भएको छ । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम छ ।
अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ ।

समूह ’बी’मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?