संविधान दिवस : ’असोज तीन, कालो दिन’ भन्दै संविधान नै जलाइयो

धनगढी । सरकारको नेतृत्वमा देशैभर संविधान दिवस मनाइएपनि असन्तुष्ट पक्षले कालो दिनका रुपमा मनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयुक्त पहलमा धनगढीको पार्कमोडमा विरोध कार्यक्रम गरिएको छ । असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध कार्यक्रम गर्ने तयारी गरेपनि प्रशासनले अनुमति नदिएपछि उनीहरुले पार्कमोडअगाडि विरोध कार्यक्रम गरेका हुन ।

संविधान जारी भएको चौथो वर्ष असन्तुष्ट पक्षले ‘असोज तीन कालो दिन’ भन्दै संविधान नै जलाए । संविधान निर्माणकै क्रमबाट आन्दोलनमा होमिएका थरुहट पक्षधरले संविधानको धारा ३८, ४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाएका थिए ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै थारु, आदिवासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेलसम्म संविधान नमान्ने बताउनुभयो ।

सरकारले मन्त्रालय, सरकारी कार्यालय, मन्त्री तथा कर्मचारी निवासमा राति दीप प्रज्वलन गरेर दीपावली मनाइरहँदा असन्तुष्ट पक्षले भने साँझ घरको बत्ती बन्द गरी ’ब्ल्याक आउट’ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?