नगरपालिका कार्यालयमा मध्यराती बम विस्फोट

अक्षाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति अक्षामको कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा विप्लव समुहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताउनुभयो । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।

नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताउनुभयो । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उहाँको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?