संविधान दिवसमा रत्नपार्क र बाइसधारा प्रवेश निशुल्क, काठमाडौं महानगरको यस्तो तयारी

काठमाडौं – अरु बेला पैसा तिरेर मात्रै छिर्न मिल्ने रत्नपार्क र बालाजु पार्कमा भोली र पर्सि जानको लागि आम सर्वसाधारणले कुनैपनि शुल्क तिर्नु पर्दैन ।

काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा ती दुई पार्कमा जाने सर्वसाधारणका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको हो । संविधान दिवसका दिन टुँडिखेलमा हुने समारोहमा जाने सर्वसाधारणका लागि समेत महानगरपालिकाले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने ,कार्यक्रम स्थललाई व्यवस्थापन गर्न आवश्यक पर्ने फलाम आदिको पाइप राखेर ध्वजा पताकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने, प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित ¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई एक÷एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने, विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायत राष्ट्र भक्तिका बिषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ ।

महानगरले महानगरबासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ ।

दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ ।

त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?